दशौँ राष्ट्रिय खेलकुदका लागि कोशी प्रदेशबाट खेलाडी छनोट सुरु

विराटनगर २४ असोज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी हुने खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धेरैभन्दा धेरै पदक जित्ने लक्ष्यसहित प्रदेशका १४ वटै जिल्लाबाट खेलाडी छनोट थालिएको हो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका अनुसार राष्ट्रिय खेलकुदमा सहभागी हुन इच्छुक ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएका छन् । तीमध्ये ३ हजार ७६५ महिला र ५ हजार ५४५ पुरुष खेलाडी छन् । प्रदेशभरिबाट दर्ता भएका खेलाडीमध्ये प्रतिस्पर्धाका विभिन्न चरण पार गरेर ६५६ जनालाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ । बोर्डका अधिकृत विनोद पाण्डेका अनुसार बोर्डद्वारा असोज ७ गते जारी सूचनामार्फत असोज १९ गतेसम्म सम्बन्धित जिल्लामा आफू सहभागी हुन इच्छुक खेलका लागि फारम भर्न खेलाडीलाई आह्वान गरिएको थियो ।

सोही अवधिमा १४ वटै जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएको जानकारी पाण्डेले दिनुभयो । उहाँका अनुसार जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै खेलाडी मोरङबाट दर्ता भएका छन् । मोरङबाट ४६० महिला र ८२० पुरुष गरी १ हजार २८० खेलाडीले फारम भरेका छन् । दोस्रोमा उदयपुरबाट १ हजार ९९ र तेस्रोमा खोटाङबाट ९९७ खेलाडी दर्ता भएका छन् । पाँचथरबाट ८८१, संखुवासभाबाट ८१५ र झापाबाट ७५६ खेलाडीले नाम दर्ता गराएको पाण्डेले बताए । त्यस्तै, भोजपुरबाट ६१०, इलामबाट ६०८, ओखलढुंगाबाट ५२०, ताप्लेजुङबाट ५१२, सुनसरीबाट ५०९, धनकुटाबाट ३२५, सोलुखुम्बुबाट २८६ र तेह्रथुमबाट ११२ खेलाडी दर्ता भएको जानकारी दिनुभयो । दर्ता भएका खेलाडीले अब जिल्लास्तरीय छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेछ । असोज २३ गते शुक्रबारदेखि संखुवासभाबाट जिल्लास्तरीय छनोट सुरु भएको जानकारी पाण्डेले दिनुभयो ।

असोज २९ गतेसम्म सबै जिल्लाले छनोट प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने उनको भनाइ छ । जिल्लास्तरबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । बोर्डले प्रदेशस्तरीय छनोट कात्तिक १२ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । कात्तिक २१ गतेसम्म छनोट सम्पन्न गरी राष्ट्रिय प्रतियोगिताका लागि ३४४ पुरुष र ३१२ महिला गरी ६५६ खेलाडीको अन्तिम टोली तयार पारिने पाण्डेले बताउनुभयो ।

बोर्डका सदस्यसचिव विप्लव घोषका अनुसार छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि योग्य ठहरिएका खेलाडीलाई मंसिर १ गतेदेखि बन्द प्रशिक्षणमा राखिनेछ । निष्पक्ष र धाँधलीरहित छनोट प्रक्रियामार्फत उत्कृष्ट खेलाडी पहिचान गरी पदक जित्ने सम्भावना भएका खेलाडीलाई विशेष तयारी गराउने बोर्डको योजना रहेको घोषले बताउनुभयो ।