विराटनगर जुट मिल्स पुनः सञ्चालन गर्न लगानीकर्ता खोजिँदै

विराटनगर ९ मंसिर । विराटनगर जुट मिल्स लिमिटेडको पुनः सञ्चालन, आधुनिकीकरण र दीर्घकालीन व्यवस्थापनका लागि रणनीतिक लगानीकर्ता खोजिएको छ । मिल्सले बुधबार सार्वजनिक सूचना जारी गर्दै अनुभवी तथा आर्थिक रूपमा सक्षम जुट उद्योगी र लगानीकर्तासँग आशयपत्र (ईओआई) माग गरेको हो ।

वि. सं १९९३ मा स्थापना भएको यस ऐतिहासिक उद्योगलाई सार्वजनिक–निजी साझेदारी वा दीर्घकालीन औद्योगिक लिज मोडलमा ३५ वर्षसम्म सञ्चालन गर्ने योजना अघि सारिएको छ । पुनः सञ्चालनपछि पूर्ण क्षमतामा पुग्दा दैनिक १२५ मेट्रिक टनभन्दा बढी जुटजन्य सामग्री उत्पादन हुने र पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरिएको छ ।

लगानीकर्ताले विराटनगर र दमकमा रहेका ६७ बिघा औद्योगिक जग्गा उपयोग गर्न पाउनेछन् । भारतीय सीमा नाका नजिकै रहेको र रेलमार्ग तथा अन्तर्देशीय व्यापारिक करिडोरसँग सहज पहुँच भएकाले यो क्षेत्र उत्पादन र निर्यातका दृष्टिले रणनीतिक महत्त्वको मानिएको छ ।

सूचनाअनुसार कृषिजन्य वस्तुको प्याकेजिङमा जुटका बोरा अनिवार्य गर्ने सरकारी नीतिका कारण आन्तरिक बजार सुरक्षित छ । साथै, भारत र दक्षिण एसियाली मुलुकमा जुटको धागो, हेसियन कपडा, बोरा, जियो–टेक्सटाइल तथा वातावरणमैत्री प्याकेजिङ सामग्री निर्यातको सम्भावना रहेको उल्लेख छ । मिल्सले नेपाल सरकारको सहयोगमा विगतका ऐतिहासिक, वित्तीय, सञ्चालन तथा श्रमिकसम्बन्धी दायित्वबाट नयाँ लगानीकर्तालाई अलग राख्ने व्यवस्था गरिने जनाएको छ । यसअनुसार नयाँ लगानीकर्ताले मिल्सको पुरानो ऋण वा दायित्वको भार व्यहोर्नुपर्ने छैन ।

सरकारको प्रत्यक्ष नीतिगत समर्थनमा पारदर्शी र वार्तामा आधारित प्रक्रियाबाट छिट्टै समझदारीपत्र गर्ने लक्ष्य राखिएको सूचनामा उल्लेख छ । लगानीकर्ताले औद्योगिक व्यवसाय ऐन, २०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार मुनाफा तथा लाभांश फिर्ता लैजान पाउने, मेसिनरी तथा पार्टपुर्जा आयातमा भन्सार सहुलियत प्राप्त गर्ने र सुरुवाती अवधिमा लिज भाडा तथा रोयल्टीमा छुट पाउने व्यवस्था रहने जनाइएको छ ।

लिज प्रक्रिया रोयल्टी भुक्तानी, संयुक्त लगानी वा निर्माण, सञ्चालन र हस्तान्तरण मोडलमा आधारित हुन सक्नेछ । आशयपत्र पेस गर्ने लगानीकर्ता वा लगानीकर्ताको समूहसँग जुट वा जुटजन्य उत्पादन तथा प्रशोधन उद्योगमा कम्तीमा २० वर्षको निरन्तर र सफल सञ्चालन अनुभव हुनुपर्नेछ । त्यस्तै, दैनिक कम्तीमा १०० मेट्रिक टन उत्पादन क्षमता भएको उद्योग सञ्चालन गरेको प्राविधिक अनुभव, स्वदेशी तथा अन्तर्राष्ट्रिय वितरण सञ्जाल र जुटजन्य सामग्री विदेश निर्यात गरेको प्रमाणित अनुभव अनिवार्य गरिएको छ ।

इच्छुक लगानीकर्ताले कम्पनीको विस्तृत विवरण, पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा उत्पादन र निर्यातसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सिलबन्दी आशयपत्र पेस गर्नुपर्नेछ । आवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वा विराटनगर जुट मिल्स लिमिटेडका अध्यक्षको नाममा बुझाउन सकिनेछ । छनोटमा परेका योग्य आवेदकलाई मिल्सको स्थलगत निरीक्षण तथा ‘डाटा रुम’मा पहुँच दिइनेछ ।

आशयपत्र बुझाएको एक महिनाभित्र औपचारिक समझदारीपत्रमा हस्ताक्षर गर्ने लक्ष्य राखिएको छ ।