लैङ्गिक हिंसाविरुद्ध विराटनगर महानगरको टिकटक भिडियो प्रतियोगिता, प्रथम हुनेलाई २५ हजार

विराटनगर ९ मंसिर । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महानगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको समन्वय र सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित कार्यक्रम शुरू भएको छ ।

प्रतियोगितामा सहभागी हुन लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पुग्ने गरी ६० सेकेन्डसम्मको जनचेतनामूलक वा सन्देशमूलक टिकटक भिडियो निर्माण गर्नुपर्नेछ । भिडियोमा शारीरिक, मानसिक, भावनात्मक तथा यौनजन्य हिंसाविरुद्धको सन्देश समेट्न सकिने महानगरले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले तयार पारेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिङ्क मंसिर १७ गतेभित्र महानगरपालिकाको इमेल ठेगाना [email protected] वा सूचनामा उल्लेख गरिएको ह्वाट्सएप नम्बरमा पठाउनुपर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट तीन भिडियोलाई छनोट गरी पुरस्कृत गरिनेछ । महानगरका अनुसार प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी भिडियो अमर्यादित, नकारात्मक सन्देश दिने वा कानुनविपरीतको हुनु नहुने सर्त राखिएको छ । त्यस्तै, लैङ्गिक हिंसा अन्त्यका लागि महानगरपालिकाले सञ्चालन गरेको साझा अभियानलाई प्रवर्द्धन गर्न तोकिएका ह्यासट्याग अनिवार्य प्रयोग गर्नुपर्नेछ । कपीराइट वा सम्पादन गरिएको तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट निर्माण गरिएको भिडियोलाई प्रतियोगितामा मान्यता नदिइने महानगरले स्पष्ट पारेको छ ।

प्रतियोगिताका विजेता भिडियो छनोट गर्ने सम्पूर्ण अधिकार महानगरपालिकाद्वारा गठित छनोट समितिमा रहने सूचनामा उल्लेख छ ।

महानगरपालिकाले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत लैङ्गिक हिंसाविरुद्ध नागरिकको सहभागिता बढाउने र हिंसामुक्त समाज निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।