विराटनगर ८ मंसिर । विराटनगरमा मंसिर १० देखि १२ गतेसम्म शल्यचिकित्सकहरूको १५औँ राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को आयोजनामा हुने ‘एसएसएनकन २०२६’ विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा सञ्चालन हुनेछ ।
मंसिर १० देखि १२ गतेसम्म (नोभेम्बर २६ देखि २८) हुने सम्मेलन नेपाल शल्यचिकित्सक समाजको कोशी प्रदेश शाखा र केन्द्रीय समाजको संयुक्त आयोजनामा हुन लागेको हो । कोशी प्रदेशमा झन्डै दुई दशकपछि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुन लागेको आयोजकले जनाएको छ ।
‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि : नवप्रवर्तन, प्रविधि र सहकार्य’ भन्ने नाराका साथ हुने सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, यूएई र मलेसियाका गरि करिव ५ सय शल्यचिकित्सकहरूको सहभागिता रहने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एसएसएन कोशी प्रदेशका अध्यक्ष प्राडा रोहितप्रसाद यादवले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपाल तथा विदेशका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक र प्रशिक्षार्थी चिकित्सकबीच ज्ञान, सीप र अनुभव आदानप्रदान हुनेछ । शल्यक्रियाका नयाँ प्रविधि, कम चिरफारबाट गरिने उपचार पद्धति तथा बिरामीको उपचार सेवामा सुधारका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
सम्मेलनअन्तर्गत मंसिर १० गते तीनवटा पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिनेछ । इन्डोस्कोपी, कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया तथा मलद्वारसम्बन्धी रोगको उपचारका विषयमा व्यावहारिक प्रशिक्षण दिइनेछ । साथै पेटको क्यान्सर र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञहरूसँग अन्तरक्रिया हुनेछ ।
मंसिर ११ र १२ गते मुख्य वैज्ञानिक कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्र रहनेछन् । हर्निया, आमाशय, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी र न्युरोसर्जरीलगायतका विषयमा छलफल हुनेछ । शल्यक्रिया तथा चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे पनि विशेष सत्र राखिएको छ ।
सम्मेलनकै क्रममा ‘एमएसएस स्याम्पियनसिप’ नामक ल्याप्रोस्कोपिक सीप प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगितामा युवा सर्जन र आवासीय चिकित्सकका उत्कृष्ट अनुसन्धानपत्र तथा पोस्टरलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्मेलनले अनुभवी तथा युवा शल्यचिकित्सकबीच सहकार्य बढाउनुका साथै नेपालमा शल्यचिकित्सा सेवाका चुनौती र सम्भावनाबारे छलफल गर्ने अपेक्षा गरिएको नेपाल शल्यचिकित्सक समाज कोशी प्रदेश शाखाका अध्यक्ष प्राडा रोहितप्रसाद यादवले बताउनुभयो ।