विराटनगर ९ मंसिर । पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले विरोध प्रदर्शन गरेको छ ।
पत्रकार महासङ्घ मोरङ शाखाबाट निस्केको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’, ‘प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर’, ‘पत्रकारमाथिको धरपकड बन्द गर’, ‘पत्रकारको श्रम अधिकार सुनिश्चित गर’, ‘स्वतन्त्र प्रेस लोकतन्त्रको आधार हो’, ‘प्रेस स्वतन्त्रताको सम्मान गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङको गेटमा पत्रकार भेला भएर मिडियामाथि गरेको दमनको विरोधमा प्रदर्शन गरेका थिए । ‘पत्रकारलाई पटक पटक हैन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित पत्रकारहरू विरोधमा उत्रेका हुन् ।
विरोध कार्यक्रममा पत्रकारका नेताहरूले पत्रकारमाथि हुने धरपकड बन्द नगरे, मिडियाकर्मीलाई डर, त्रास देखाउन बन्द नगरे थप आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घको केन्द्रिय सदस्य कमल रिमाल, कोशी प्रदेश पत्रकार महासङ्घका अध्यक्ष भरतबहादुर खड्का तथा नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष सुशिला पाठकले श्रमजीवी पत्रकारहरूको हकहित तथा प्रेस स्वतन्त्रताको बारेमा बोल्नुभएको थियो । विरोध प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश तथा पत्रकार महासङ्घ मोरङका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
