पार्टीलाई सुदृढीकरण गर्न क्षेत्रीय सभापतिमा मेरो उम्मेदवारी : कांग्रेस नेता तवदार

विराटनगर, १० असोज । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं ६ का सभापतिका उम्मेदवार चुमनारायण तवदारले पार्टीलाई सुदृढीकरण गर्न आफ्‌नो उम्मेदवारी रहेको बताउनु भएको छ ।

विराटनगरमा आज स्थानीय नेता तथा प्रतिनिधिहरूको उपस्थितिमा ‘वर्तमान राजनीति र क्षेत्रीय अधिवेशन’ विषयमा पत्रकार भेटघाट कार्यक्रम उहाँले सो कुरा बताउनु भएको  हो । उहाँले पार्टीलाई चुस्त, दुरुस्त र सुदृढ बनाउँदै सबै पक्ष, गुट तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

क्षेत्रीय अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै संगठनलाई तल्लो तहसम्म बलियो बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो । नेता तवदारले पार्टीभित्र आर्थिक तथा सांगठनिक पारदर्शिता कायम गर्दै एकताबद्ध भएर अघि बढ्ने तथा युवा र निष्ठावान कार्यकर्तालाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिनु भएको थियो ।

आगामी दिनमा पार्टीका गतिविधि तथा क्षेत्रीय अधिवेशनका क्रममा सञ्चारकर्मीसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुृ भयो । नेपाली कांग्रेस विराटनगर–४ का वडा सभापति अर्जुन चुडाल र पुर्ववडा सभापति राजकुमार तवदार लगायतको उपस्थिति थियो ।