लायन्स क्लब अफ विराटनगर सोसियलद्वारा एकै दिन दुई सामाजिक कार्यक्रम

विराटनगर २ असाेज । लायन्स क्लब अफ विराटनगर सोसियलले सामाजिक उत्तरदायित्वअन्तर्गत एकै दिन दुई वटा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ।

क्लबले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई ह्विलचेयर वितरण गरेको हो।

क्लबले सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सहकार्यमा विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा लायन्स क्लब मल्टिपलका काउन्सिल सदस्य लिला ढुङ्गेल, डिस्ट्रिक्ट ३२५ सी का प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री, पीडीजी रैवतबहादुर कार्की, एरिया चिफ चन्द्र अधिकारी र जोन चेयरपर्सन सुवास रिजाललगायतको सहभागिता थियो।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजन महतराले विद्यार्थीलाई लागूऔषधको जोखिम, यसबाट हुने असर तथा दुव्र्यसनबाट बच्ने उपायबारे जानकारी गराउँदै सचेतनामूलक प्रशिक्षण दिएका थिए।

यसैगरी, क्लबले सुनवर्षी नगरपालिकाका दुई जना शारीरिक रूपमा अशक्त व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ। नगरपालिकाको वडा नम्बर ५ झुंगीटोलका मानिकचन्द रिषिदेव र वडा नम्बर २ अमरदहका हरिलाल रिषिदेवलाई एक–एक थान ह्विलचेयर प्रदान गरिएको हो।

ह्विलचेयर वितरण कार्यक्रममा प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, लायन्स क्लब मल्टिपलका काउन्सिल सदस्य लिला ढुङ्गेललगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

क्लबका अध्यक्ष देवकीनन्दन अग्रवालको अध्यक्षतामा दुवै कार्यक्रम सम्पन्न भएका थिए।

सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा समुदायमा आवश्यक सहयोगका क्षेत्रमा क्लबले आगामी दिनमा पनि आफ्ना गतिविधिलाई निरन्तरता दिने जनाएको छ।