विराटनगर १५ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गर्नुभएको छ।
पाँचवर्षे कार्यकाल पूरा गरी यही कात्तिक २४ गते विदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीले आज भेट गर्नुभएको हो।
२०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखको कार्यभार सम्हाल्नुभएका खापुङको कार्यकाल पूरा हुन लागेसँगै मुख्यमन्त्री कार्कीले उहाँले प्रदेशको विकास, समृद्धि र संस्थागत स्थायित्वमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले विकास र स्थायित्वलाई अघि बढाउने प्रयास गरिरहेको जानकारी गराउँदै संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा पाँचवर्षे कार्यकाल पूरा गर्नुभएका प्रदेश प्रमुख खापुङप्रति आभार व्यक्त गर्नुभयो।
प्रदेश प्रमुखका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन उहाँले खेल्नुभएको भूमिकाको मुख्यमन्त्री कार्कीले प्रशंसा गर्नुभएको थियो।
भेटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो। सो अवसरमा प्रदेशको विकास, समृद्धि र समसामयिक विषयमा समेत छलफल भएको थियो।
नेपालको संविधानअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। एक प्रदेशमा पाँच वर्ष कार्यकाल पूरा गरेपछि सोही प्रदेशमा पुनः प्रदेश प्रमुख नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्था छ।
५ वर्षे कार्यकाल पूरा गर्नेमा ७ प्रदेशहरूमा उहाँ पहिलो प्रदेश प्रमुख हुनुहुन्छ । काेशी प्रदेशमा यसअघि गाेविन्दबहादुर तुम्बाहाङ र साेमनाथ अधिकारी प्रदेश प्रमुख हुनुहुन्थ्यो ।