विराटनगर १६ कात्तिक । प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरूलाई जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयमा सर्वोच्च अदालतले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले सार्वजनिक भएका विषयको निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेको हो । प्रधान न्यायाधीश र न्यायाधीशहरूबारे आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सर्वोच्चले अनुसन्धानको निष्कर्ष नआउँदै कसैलाई दोषीका रूपमा चित्रण नगर्न सञ्चारमाध्यम तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक भएका विषयमा कुनै पूर्वाग्रह नराखी संविधान र कानुनअनुसार छानबिन गर्नुपर्ने उल्लेख छ । अनुसन्धानबाट प्राप्त निष्कर्ष सत्यतथ्यसहित यथाशीघ्र सार्वजनिक गर्न पनि अदालतले आग्रह गरेको छ । अदालतले आफूहरू संविधानको सर्वोच्चता र कानुनको शासनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका सम्बन्धमा हुने अनुसन्धानमा कानुनले तोकेको जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग गर्न पनि तयार रहेको सर्वोच्चको भनाइ छ ।
न्यायपालिका नागरिकको आस्था र विश्वासमा टिकेको संस्था भएकाले यससँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउनुपर्ने पूर्ण बैठकको निष्कर्ष छ । छानबिनको टुंगो नलाग्दै व्यक्तिलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको काममा अवरोध पुग्ने प्रकृतिका सामग्री सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ ।
यसैबीच, सार्वजनिक भएका समाचारबाट प्रभावित नभई नियमित न्यायिक काममा सक्रिय रहन सर्वोच्चले देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीसहित सम्पूर्ण न्यायकर्मीलाई आग्रह गरेको छ ।