विराटनगर १६ कात्तिक । सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उहाँलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उहाँलाई थप उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पुर्याइएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार साँझदेखि इलाम अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था निरन्तर बिग्रिँदै गएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको इलाम अस्पतालले जनाएको छ । इलाम अस्पतालका चिकित्सक डा. अभिताभ ठाकुरका अनुसार डा. केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम देखिएको छ भने पिसाबमा एसिटोनको मात्रा बढेको छ ।
स्वास्थ्य अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएपछि उनलाई काठमाडौं पठाइएको डा. ठाकुरले जानकारी दिनुभयो । अस्पताल ल्याएदेखि नै डा. केसीको अवस्था निरन्तर बिग्रिरहेको छ,’ डा. ठाकुरले भन्नुभयो ।
चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझ इलामस्थित नारायणस्थान मन्दिर परिसरमा आफ्नो २५औँ सत्याग्रह सुरु गर्नु भएको थियो । उहाँले चिकित्सा क्षेत्र सुधारसम्बन्धी छ बुँदे माग अघि सार्दै सत्याग्रह थाल्नु भएको हो ।