विराटनगर १ असोज । विराटनगरमा साता व्यापी ‘मेगा ब्लड डोनेसन ड्राइभ’ आयोजना हुने भएको छ । तेरापन्थ युवक परिषद् विराटनगरले रक्तदानको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ साता व्यापी रूपमा ‘मेगा ब्लड डोनेसन ड्राइभ’ को आयोजना गर्न लागेको हो ।
परिषद्ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘मेगा ब्लड डोनेसन ड्राइभ’बारे जानकारी गराएको छ । परिषद् विराटनगरका अध्यक्ष अरिहन्त दुगडले रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले यस पटक मात्रै नभई धेरै वर्षदेखि नियमित रूपमा यो साता व्यापी रूपमा अभियान सञ्चालन गर्दै आएको प्रस्ट्याउनुभयो ।
‘मेगा ब्लड डोनेसन ड्राइभ’ का संयोजक पवन पारखले रक्तदानलाई मानवीय सेवासँग जोड्दै धेरै युवा र सर्वसाधारणलाई अभियान सहभागी गराउने उद्देश्य रहेको जानकारी दिनुभयो । उहाँले विगत वर्षहरूमा कुनै एक ठाउँलाई केन्द्रित गर्दै अभियान गर्दै आएकोमा यस पटकको अभियानलाई ‘कर्पाेरेट’ संस्थालाई लक्षित गरेर अभियान गर्न लागको बताउनुभयो । ‘मेगा ब्लड डोनेसन ड्राइभ’ असोज २ गतेदेखि ७ गतेसम्म विभिन्न ‘कर्पाेरेट’ (व्यावसायिक संस्था) मा आयोजना हुनेछ ।
असोज २ गते तेरापन्थ भवन, ३ गते भाटभटेनी, ४ गते रघुपति जुट मिल, ५ रिलायन्स स्पिनिङ मिल्स, ६ गते अरिहन्त मल्टिफाइबर्स र ७ गते सेन्चुरी स्पाइसेस एण्ड स्न्याक्स र मार्भेल पाइपिङमा हुने संयोजक पारखले बताउनुभयो । यस पटकको अभियानमा ७ सय पिन्ट रगत संकलन लक्ष्य रहेको तेरापन्थ युवक परिषद्ले जनाएको छ ।