एन्टीबायोटिक दुरुपयोगले मानव स्वास्थ्यमा नकारात्मक र दीर्घकालीन असर

विराटनगर ८ मंसिर । एन्टीबायोटिक दुरुपयोगले मानव स्वास्थ्यमा नकारात्मक र दीर्घकालीन असर पारेको विराटनगरमा मंगलबार भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहको समापनको अवसरमा स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर रामहरि रेग्मीले एन्टिमाइक्रोवियल प्रतिरोधको बढ्दो जोखिम न्युनीकरण गर्न मानव स्वास्थ्य, पशु स्वास्थ्य तथा वातावरणमा पारेको प्रभाव र यसको रोकथामका उपायबारे सचेतना आवश्यक जानकारी दिनुभयो ।

एन्टिमाइक्रोबिएल प्रतिरोध भनेको ब्याक्टेरीया, भाइरस, फङ्गस तथा परजीवीहरुहरुलाई नियन्त्रण वा नष्ट गर्न प्रयोग गरिने औषधिको प्रभावबाट ती सुक्ष्मजीवहरु बच्न र वृद्धि हुन सक्ने अवस्था भएकाले सामान्य संक्रमणको उपचार समेत कठिन बन्दै गएकाले रोग फैलिने, बिरामी गम्भीर हुने तथा मृत्युसम्मको जोखिम बढेको उहाँको भनाई छ । जसले गर्दा एन्टिमाइक्रोबिएल प्रतिरोध न्यूनीकरणका लागि औषधिको अनावश्यक तथा जथाभावी प्रयोग रोक्नु पर्ने, चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि प्रयोग गर्नुपर्ने औषधि व्यवस्था विभाग विराटनगरका राजेश श्रेष्ठले बताउनु भयो ।

एक स्वास्थ्य, एक कार्य, प्रतिजैविक प्रतिरोध न्युनीकरणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण एकअर्कासँग अन्तरसम्बन्धीत रहेकाले एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रणका लागि सबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले हामीले प्रयोग गर्ने औषधि कसरी प्रयोग गरिरहेका छौं ? भन्नेमा हरेक नागरीक मात्र नभएर समुदाय नै सचेत हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।