क्रिकसलको उपाधि विजेता खेलाडीलाई ग्रिनल्याण्डको सम्मान

विराटनगर १ भदौ । प्रथम अन्तरविद्यालय स्तरीय क्रिकसल प्रतियोगिताको उपाधि जितेको ग्रिनल्याण्ड सेकेन्डरी स्कुल विराटनगरले खेलाडी तथा प्रशिक्षकहरूलाई आज सम्मान गरेको छ ।

कोशी प्रदेशमै पहिलो पटक विराट स्पोट्र्स जोनको आयोजनामा भएको क्रिकसल प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्डले राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो ।

विजयी खेलाडीहरूको हौसला बढाउन ग्रिनल्याण्ड स्कुलले एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई नगदसहित सम्मान गरेको हो । स्कुलका प्रिन्सिपल दिनेश दाहाल लगायत शिक्षकहरूले खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार, माला र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको ग्रिनल्याण्डले व्यक्तिगत विधामा पनि वर्चस्व जमाएको थियो । ग्रिनल्याण्डका अमिर मण्डल ‘उत्कृष्ट बलर’ घोषित भए भने कृष्णराज यादवले ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि जित्न सफल भए ।

अन्तरविद्यालय स्तरीय क्रिकसल प्रतियोगितामा ३२ विद्यालयको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा प्रिन्सिपल दाहालले ग्रीनल्याण्डका विद्यार्थीले शैक्षिक उपलब्धीसँगै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको बताउनुभयो ।