विराटनगर, १५ असोज । कोशी प्रदेशको समृद्धि र विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेकाले यसको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
गैरसरकारी संस्था महासंघ कोशी प्रदेशले आयोजना गरेको ‘कोशी प्रदेशमा नागरिक समाजको स्थानको वर्तमान अवस्था, चुनौती एवं अवसर’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले नागरिक समाजका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ कोशी प्रदेशका अध्यक्ष सोमराज ढकालले नागरिक समाजका लागि सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नागरिक समाजसँग सम्बन्धित सरोकारवालाका सुझाव र सवाललाई सम्बोधन गर्न महासंघले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशमा नागरिक समाजको वर्तमान अवस्था, चुनौती तथा अवसर, नागरिक समाज संस्थाहरूको भूमिका, अभिव्यक्ति तथा सहभागिताको अवस्था, राज्य र नागरिक समाजबीचको सहकार्य तथा समन्वयलगायत विषयमा छलफल भएको थियो ।
कार्यक्रममा उच्च अदालत बार विराटनगरका सदस्य कला त्रिताल, राष्ट्रिय मानव अधिकार आयोगका डिल्लीराम लंसाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मानव अधिकार सञ्जालका संयोजक वासु अधिकारी, गैसस महासंघ नेपालका केन्द्रीय परियोजना संयोजक योगेश काफ्ले, एबीसी नेपालका अध्यक्ष विष्णु शर्मा लगायतले नागरिक समाजको अवस्थाबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रमको विषयवस्तु प्रस्तुति प्रदेश कोषाध्यक्ष विनोद विश्वकर्माले गर्नुभएको थियो भने गैसस महासंघ नेपालका केन्द्रीय परियोजना संयोजक योगेश काफ्लेले सहजीकरण गर्नुभएको थियो ।
छलफलमा नागरिक समाजका लागि उपलब्ध नागरिक स्थान, संस्थाहरूले भोगिरहेका चुनौती र अवसर तथा नागरिक स्थानलाई थप सुदृढ बनाउन आवश्यक पहलका विषयमा सहभागीबीच विचार तथा अनुभव आदानप्रदान गरिएको थियो ।
महासंघका अध्यक्ष ढकालले कार्यक्रमबाट प्राप्त व्यक्तिगत तथा सामूहिक छलफलका निष्कर्ष नागरिक समाजको क्षमता अभिवृद्धि र कार्यान्वयनका लागि महत्वपूर्ण हुने बताउनुभयो ।