विराटनगरमा एलाइट फाइटस् नकआउट फुटबल हुने

विराटनगर १ भदौ । लागुऔषध सेवन नगरौं भन्ने उद्धेश्यसहित विराटनगरमा भदौ ५ गतेबाट हुने एलाइट फाइटस् नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ ।

पहिलोपटक सुधार केन्द्रमा रहेकाहरुलाई खेलप्रति उत्पे्ररित गराउने उद्धेश्यसहित मोरङ जिल्लाका विभिन्न आठ वटा सुधार केन्द्रमा रहेकाहरुलाई मैदानमा उतार्ने गरि प्रतियोगिता हुन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा यातायात मजदुर युवा क्लब (टिडब्लुवाईसी) बसपार्कद्वारा आयोजना हुने प्रतियोगितामा कुलतमा फसेकाहरुलाई खेलकुदतर्फ प्रेरित गर्ने प्रयास अघि बढाउने खोजिएको प्रतियोगिता संयोजक विनेश बस्नेतले जानकारी दिए । जिल्ला फुटबल संघ मोरङका महासचिव समेत रहेको बस्नेतका अनुसार युवाहरुमा फुटबललाई लिएर विशेष ध्यान हुने हुँदा कुलतबाट टाढा राख्न सकिन्छ भन्ने उद्धेश्य प्रतियोगिताले राखेको हो ।

संयोजक बस्नेतले प्रतियोगितामा विराटनगरका ४ र विराटनगरबाहिर अन्य पालिकाका ४ वटा सुधार केन्द्रले सहभागिता जनाएको जानकारी दिए । सहिद मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगरको रिचमण्ड फेलोसिप र जीवन दृष्टि बीच हुनेछ । त्यसैगरि, दोस्रो खेल बेलबारी प्लसले उद्धार पूर्नस्थापना केन्द्रसंग भिड्नेछ । त्यसैगरि, चौथो खेल जीवन बचाउ पूर्नस्थापना केन्द्र र आश्रय सुधार केन्द्रबीच हुने बताएका संयोजक बस्नेतले नकआउट चरणको अन्तिम खेलमा विराटनगरको क्यानभास पूर्नस्थापना केन्द्रले लिबर्टी नेपालको सामना गर्नेछ ।

कुल ६० मिनेटको खेलमा खेलाडीपरिवर्तनमा कुनै संकुचन अवस्था नराखिएको बताएका उनले प्रतियोगितामा सहभागि हुने खेलाडीहरु मोरङ जिल्लाकै हुनुपर्ने प्रावधान राखिएको प्रष्टाए । लागुऔषध सेवनबाट बाहिर निस्कन प्रयासरत रहेका ब्यक्तिलाई खेलकुदमा चासो बढाउन र कुलतमा नलाग्नका लागि उत्प्रेरणा जगाउन प्रतियोगिता गरिएको संयोजक बस्नेतले बताए ।

आयोजकका अनुसार विजयी हुने सुधार केन्द्रले ट्रफीसहित ५१ हजार, र दोस्रो हुने केन्द्रले ३१ हजार रुपैया हात पार्नेछ । मोरङका विभिन्न स्थानमा गरि कुल २१ वटा सुधार केन्द्र रहेकाछन् ।