विराटनगर २८ साउन । विराट स्पोर्ट् जोनमा अन्तरविद्यालय स्तरीय क्रिकसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सात वटा खेल भएका छन् । बुधबार एभरेष्ट सेकेण्डरी स्कुल, अर्किड पब्लिक सेकेण्डरी स्कुल, मार्टस् मेमोरियल स्कुल, बीकेभीएम, सगरमाथा सेकेण्डरी स्कुल, ग्रीनल्यान्डस्कुल र सत्यनारायण मावि विजयी भएका छन् ।
पहिलो खेलमा लिलिपुट प्रिमियर एलिमेन्टरी स्कुलले निर्धारित ८ ओभरमा ६ विकेट गुमाएर २० रन बनायो । जवाफमा एभरेष्ट सेकेण्डरी स्कुलले ३ ओभरमा १ विकेट गुमाएर २३ रन बनाउँदै ७ विकेट बाँकी छँदै जित हात पार्यो । एभरेष्टका अनुष पुरी म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा शारदा बोर्डिङ स्कुलले ८ ओभरमा ७ विकेटको क्षतिमा २४ रन बनायो । अर्किड पब्लिक सेकेण्डरी स्कुलले १.५ ओभरमै बिना विकेट क्षति २६ रन बनाउँदै प्रभावशाली जित निकाल्यो । अभय कामत म्यान अफ द म्याच बने ।
तेस्रो खेलमा पोलस्टार सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलले ८ ओभरमा ३ विकेट गुमाएर ४३ रन बनायो । मार्टस मेमोरियल स्कुलले ३.१ ओभरमा १ विकेट गुमाएर ४४ रन बनाउँदै ७ विकेट बाँकी छँदै जित दर्ता गर्यो । सुमन मण्डल म्यान अफ द म्याच घोषित भए ।
चौथो खेलमा सरस्वती माविले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ४० रन बनायो । बीकेभीएमले ४ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाउँदै जित हात पार्यो । निकेश मेहता म्यान अफ द म्याच बने ।
पाँचौँ खेलमा ग्रेडेड इंग्लिस स्कुलले ८ ओभरमा ५ विकेट गुमाएर ५४ रन बनायो । सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलले ५.१ ओभरमा १ विकेट गुमाएर ५५ रन बनाउँदै जित निकाल्यो। सौरभ यादव म्यान अफ द म्याच घोषित भए ।
छैटौँ खेलमा दिल्ली पब्लिक स्कुलले ८ ओभरमा ७ विकेट गुमाएर ५७ रन बनायो । ग्रीनल्यान्ड सेकेण्डरी स्कुलले ५.१ ओभरमा २ विकेट गुमाएर ५८ रन बनाउँदै ६ विकेट बाँकी छँदै जित दर्ता गर्यो । इबाहाङ राई म्यान अफ द म्याच बने ।
अन्तिम खेलमा सत्यनारायण माविले निर्धारित ८ ओभरमा १ विकेट गुमाएर १५५ रनको विशाल योगफल तयार गर्यो । लक्ष्य पछ्याएको एजेलिया सेकेण्डरी बोर्डिङ स्कुल ५.१ ओभरमा सबै विकेट गुमाउँदै १८ रनमा समेटिया े। सत्यनारायणले १३७ रनको फराकिलो जित हात पार्दा राहुल यादव म्यान अफ द म्याच घोषित भए ।
८ ओभरको फरम्याटमा शुरु प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुलीले ब्याटिङ गर्दै र बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले बलिङ गर्दै गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीत पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद बाबू, विराटनगर महानगरपालिका–३ का वडा अध्यक्ष वासु बस्नेत, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
अन्तरविद्यालय स्तरीय प्रतियोगितामा विराटनगर, ग्रामथान र बुढीगंगाका निजी तथा सामुदायिक गरि ३२ विद्यालय सहभागी छन् । प्रतियोगिता साउन ३१ गते सम्म सञ्चालन हुने आयोजक विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाँइले बताउनुभयो ।
