मैत्रीपूर्ण क्रिकेट सिरिजको उपाधि विराट क्रिकेट एकेडेमीलाई, युनाइटेडमाथि ४३ रनको जित

विराटनगर ३ कात्तिक  । झापाको बिर्तामोडमा सम्पन्न मैत्रीपूर्ण क्रिकेट सिरिजको उपाधि विराट स्पोर्ट्स जोन विराट क्रिकेट एकेडेमी, विराटनगरले जितेको छ। युनाइटेड क्रिकेट एकेडेमी झापाको घरेलु मैदानमा सम्पन्न ६ खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरको टोलीले उपाधि हात पारेको हो।

तीन दिनसम्म सञ्चालन भएको सिरिजमा दुवै एकेडेमीका अन्डर–१३ र अन्डर–१५ उमेर समूहका ३० जना युवा खेलाडी सहभागी थिए। सिरिजको फाइनलमा विराट क्रिकेट एकेडेमीले युनाइटेडलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको हो।

फाइनलमा पहिले ब्याटिङ गरेको विराट क्रिकेट एकेडेमीले ९२ रन बनाएको थियो। ९३ रनको लक्ष्य पछ्याएको युनाइटेड क्रिकेट एकेडेमी विराटनगरका बलरको कसिलो बलिङसामु टिक्न सकेन। युनाइटेड १४ ओभरमा ४९ रनमै अलआउट भएपछि विराटनगरले सहज जित निकालेको हो।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका विराट क्रिकेट एकेडेमीका अन्डर–१३ उमेर समूहका खेलाडी निश्चल कोइराला ‘म्यान अफ द म्याच’ घोषित भए।

खेलपछि आयोजित समापन कार्यक्रममा विराट क्रिकेट एकेडेमीका अध्यक्ष हरि बजगाईंले युनाइटेड क्रिकेट एकेडेमीका सञ्चालक तथा अध्यक्ष हितेन श्रेष्ठलाई सिरिज आयोजनाका लागि धन्यवाद दिए। उनले यस्ता मैत्रीपूर्ण खेलले युवा खेलाडीको मनोबल बढाउनुका साथै खेल कौशल विकास गर्न सहयोग पुग्ने बताए।

दुवै एकेडेमीबीच आगामी दिनमा पनि यस्ता मैत्रीपूर्ण खेललाई निरन्तरता दिइने अध्यक्ष बजगाईंले जानकारी दिए।

सिरिज सम्पन्न गरी विराटनगर फर्किने क्रममा विजेता टोलीलाई बिर्तामोडस्थित लालीगुराँस होटल एण्ड लजले विशेष सम्मानसहित बिदाइ गरेको थियो। होटलका सञ्चालकले खेलाडी तथा अफिसियल टोलीलाई खादा र माला लगाएर बिदाइ गरेका थिए। एकेडेमी परिवारले होटलको आतिथ्यता र सम्मानप्रति आभार व्यक्त गरेको छ।

युवा खेलाडीको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक अनुभव र दुई एकेडेमीबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित सिरिजले मोफसलमा क्रिकेटको विकास तथा नयाँ प्रतिभा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।