विराटनगर ७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताउनु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको जिकिर गर्नुभयो । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गर्नुभयो ।
‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । यो विघटन नभई रूपान्तरण हो । नामभन्दा काम महत्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने संकल्पमा छौं,’ उहाँले भन्नुभयोे, ‘नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा दुर्घटना निम्त्याउन सक्छ भनेर हामीले पहिल्यै सचेत गराएका थियौँ । हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ ।’
नेकपा (एमाले) सँगको भिन्नताबारे बोल्दै संयोजक प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गर्नुभयो ।