विराटनगर २७ साउन । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको एभरेस्ट स्काउट टु«पले बुधबार एक विशेष समारोहका बीच ५१ जना विद्यार्थीलाई दीक्षित गरेको छ । नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्ययतामा सो दीक्षान्त समारोह सम्पन्न भएको हो ।
समारोहमा सदस्यता तहका ३० छात्रा र १० छात्र गरी ४० जना तथा बीपी पीक तहका ११ जना विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित विद्यार्थीहरूलाई स्काउट लिडरहरूले शपथ ग्रहण गराएका थिए ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले स्काउटको पहिचान स्कार्फ र युनिफर्ममा मात्र सीमित नहुने बताए ।
विद्यालयका प्रिन्सिपल तथा एभरेस्ट ट्रुपका इकाई अध्यक्ष टीकाराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा उनले स्काउटलाई जीवनोपयोगी सीप सिकाउने थलोको रूपमा व्याख्या गरे । प्रिन्सिपल पुरीले समय, भूगोल र आवश्यकता अनुसारका नयाँ सीपमूलक कार्यक्रम ल्याउन स्काउट नेतृत्वलाई आग्रह गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा स्काउटका स्थानीय तह प्रमुख नवीन पहाडी, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष सुदीप कोइराला र अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोल लगायतको उपस्थिति थियो । एभरेस्ट स्कुलमा हाल ८६ जना विद्यार्थी स्काउटमा आबद्ध रहेको जानकारी सो अवसरमा दिइएको थियो ।