कोशी खेलकुद विकास बोर्ड राष्ट्रिय खेलकुदका विजेतालाई मासिक भत्ताको व्यवस्था गर्दै

विराटनगर १६ असाेज । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले कर्णालीमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वर्ण पदक विजेता खेलाडीहरूलाई मासिक भत्ताको व्यवस्था गर्ने तयारी गरेको छ। आज इटहरीस्थित प्रादेशिक रङ्गशालामा सम्पन्न बोर्डको ३६ औँ बैठकले स्वर्ण पदक विजेता खेलाडीहरूलाई मासिक भत्ताको व्यवस्था गर्ने तयारी थाल्ने निर्णय गरेको हो।

कोशी प्रदेशकी सामाजिक विकास मन्त्री तथा बोर्डकी अध्यक्ष गीता तिम्सिनाको अध्यक्षतामा सम्पन्न बैठकले स्वर्ण पदक विजेताहरूलाई प्रोत्साहन तथा खेल जीवनमा थप सहयोग मिल्ने गरी मासिक भत्ताको व्यवस्था गर्ने तयारी थालिएको बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो। उहाँले बैठकको निर्णय बमोजिम स्वर्ण पदक विजेतादेखि लिएर अन्य पदक विजेतालाई कसरी प्रोत्साहन गर्दै खेलमै सक्रिय राख्न पहल गर्न सकिन्छ बारे बोर्डले थप अध्ययन गर्ने तयारी गरेको समेत बताउनु भयो।

बोर्ड बैठकले जापानमा सम्पन्न २० औँ एसियाली खेलकुदमा कास्य पदक विजेता राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई नगदसहित सम्मान गर्ने निर्णय अनुमोदन समेत गरेको छ। बैठकले बोर्डले केही दिन पहिले घोषणा गरेको राजवंशीलाई १ लाख र राईलाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय अनुमोदन गरेको हो।

त्यस्तै, बोर्डले प्रादेशिक रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताका लागि सचिवालयको समेत स्थापना गरेको छ।