कांग्रेस महाधिवेशन : मोरङ क्षेत्र नम्बर ६ का सभापति तामाङद्धारा अधिवेशन बहिष्कार

विराटनगर १६ असोज । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन सञ्चालनलाई लिएर विवाद चर्किएको छ । क्षेत्रीय सभापति देवराज तामाङले आफू बहाल रहेकै अवस्थामा अर्की व्यक्तिलाई संयोजक तोकेर अधिवेशन सञ्चालन गर्न खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाउनु भएको हो ।

क्षेत्रीय सभापति तामाङले आज पत्रकार सम्मेलन गरी पार्टीको विधान, स्थापित परम्परा र लोकतान्त्रिक संस्कारविपरीत एकपक्षीय ढंगबाट अधिवेशन अघि बढाउन खोजिएको दाबी गर्नुभयो ।

तामाङले एकपक्षीय रूपमा गरिएको वा गर्न खोजिएको अधिवेशनलाई वैधानिक र स्वीकार्य मान्न नसकिने स्पष्ट पार्नु भएको छ । अधिवेशन निश्चित व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने माध्यम नभई पार्टीका क्रियाशील सदस्यको सहभागिता, सहमति, पारदर्शिता र लोकतान्त्रिक अभ्यासको साझा मञ्च हुनुपर्ने उहाँको भनाइ छ ।

विवादमा नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिकामाथि समेत प्रश्न उठाउनु भएका तामाङले उहाँको पहल तथा भूमिकाका कारण क्षेत्र नम्बर ६ मा पछिल्लो विवाद उत्पन्न भएको दाबी गर्नुभयो ।

यसैगरी सुन्दरहरैंचाका ४ वटा वडा सभापतिले समेत संयुक्त विज्ञप्ति निकालेर अधिवेशनमा सहभागी नहुने बताएका छन् । सुन्दरहरैंचा ४ का सभापति कैलाश बस्नेत, ५ का निलबहादुर शाही, ६ का सजित राई, ७ का कुविर नाल्बो विज्ञप्ति निकालेर एकतर्फी रुपमा गरिएको अधिवेशनमा सहभागी नहुन क्षेत्रीय प्रतिनिधिरुलाई आग्रह गरेका छन् । त्यस्तै सोही विज्ञप्तिमा बूढीगंगा गाँउपालिका वडा नम्बर २ का सभापति दीपेन्द्र न्यौपानेले पनि हस्ताक्षर गर्नुभएको छ ।

बुधबार सुन्दरहरैंचामा अधिवेशनका क्रममा विवाद हुँदा झडप भएको थियो । झडपमा परी क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, नेता चेतराज रेग्मीसहित ३ जना घाइते भएका थिए । उत्पन्न विवादपछि अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला सहसचिव सञ्जय मण्डललाई संयोजक तोकिएको छ । संयोजक मण्डलले निर्वाचन प्रकृया अघि बढाउनु भएको छ ।