विराटनगर १६ असोज । फोटोग्राफर संघ मोरङले फोटो तथा भिडियो क्षेत्रमा पछिल्लो समय विकसित प्रविधिबारे जानकारी दिने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आयोजना गर्ने भएको छ ।
एक्स्पो असोज १७ र १८ गते विराटनगरस्थित आरके होटलमा आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुरन राईले जानकारी दिनुभयो । एक्स्पोमा स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरले खिचेका विभिन्न फोटो तथा भिडियो प्रदर्शनीमा राखिनेछ । नयाँ पुस्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रमा भित्रिएका नवीन प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको एक्स्पो संयोजक एकराज श्रेष्ठले बताउनुभयो ।
एक्स्पो अवधिमा फोटो तथा भिडियो सम्पादन सम्बन्धी तालिमका साथै कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगसम्बन्धी तालिमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । पछिल्लो समय फोटो तथा भिडियो क्षेत्रमा एआईसहितका नयाँ प्रविधिको प्रयोग बढ्दै गएकाले त्यसबारे व्यावहारिक जानकारी दिने तयारी गरिएको हो ।
फोटोग्राफी तथा भिडियोग्राफी व्यवसायमा आबद्ध जनशक्तिलाई नयाँ प्रविधिसँग जोड्नुका साथै स्थानीय प्रतिभाको सिर्जना र कामलाई प्रवद्र्धन गर्ने एक्स्पोको उद्देश्य रहेको संघले जनाएको छ ।
फोटोग्राफर संघ मोरङमा हाल १७२ जना सदस्य आबद्ध छन्। एक्स्पोले जिल्लाका फोटोग्राफर तथा भिडियोग्राफरबीच अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको प्रयोग र सम्भावनाबारे जानकारी लिन अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ ।