अपराध हुन नदिने गरी सुरक्षा रणनीति बनाउँछौं : डीआईजी खनाल
विराटनगर २६ साउन । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले अपराध भइसकेपछि अनुसन्धान र कारबाही गर्नुभन्दा अपराध हुनै नदिने गरी प्रहरीको सुरक्षा रणनीति अघि बढाइने बताउनुभएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा वार्षिक प्रगति विवरण तथा आगामी कार्यदिशा सार्वजनिक गर्दै डीआईजी खनालले ‘सक्षम प्रहरी र सुरक्षित नागरिक’ अवधारणामा आधारित कार्ययोजना तयार पारिएको जानकारी दिनुभयो।
नागरिकको प्रहरीप्रतिको विश्वास बढाउने गरी सेवा प्रवाह गर्नुका साथै अपराध नियन्त्रण र रोकथामलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो।
कोशी प्रदेशमा सबैभन्दा बढी मुद्दा दर्ता हुने अपराधमध्ये लागूऔषधसम्बन्धी अपराध प्रमुख रहेकाले यसको रोकथाम तथा मुख्य कारोबारीलाई कानुनी दायरामा ल्याउने अभियान सञ्चालन गरिने उहाँको भनाइ छ।
यस्तै, सीमा तथा अन्तरदेशीय अपराध, साइबर अपराध र डिजिटल कारोबारसँग सम्बन्धित अपराध नियन्त्रण, महिला तथा बालबालिकामैत्री प्रहरी सेवा तथा ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउने योजना रहेको उहाँले बताउनुभयो।
प्रहरी संगठनलाई थप नागरिकमैत्री, जवाफदेही र प्रविधिमैत्री बनाउँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र गलत कार्य गर्नेलाई कारबाही गरिने डीआईजी खनालले बताउनुभयो।
प्रहरी र सञ्चारमाध्यमबीचको समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रहरीले तथ्यपरक सूचना समयमै उपलब्ध गराउने बताउनुभयो।
अनुसन्धान प्रभावित हुनसक्ने सूचना सम्प्रेषणमा संवेदनशील हुन पत्रकारलाई आग्रह गर्दै उहाँले सञ्चारमाध्यमबाट आउने आलोचनालाई सुधारका रूपमा ग्रहण गर्ने बताउनुभयो।