विराटनगरको खाद्य गोदाममा किरा परेको चामल फेला

विराटनगर १५ असार । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विराटनगरको गोदाममा मुसाले खाएको र गुणस्तरहीन चामल नयाँ बोरामा प्याकिङ गरेर बेच्न लागिएको फेला परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङको विराटनगरस्थित कम्पनीको गोदाममा निरीक्षण गर्दा यस्तो चरम लापरबाही फेला पारेको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा सरकारी गोदामभित्रै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने खालको चामल फेला परेपछि टोलीले त्यसको बिक्री वितरणमा तत्काल रोक लगाएको छ ।

अनुगमनका क्रममा चामलका बोराहरूमा अनिवार्य रूपमा हुनुपर्ने ब्याच नम्बर र मूल्यसमेत उल्लेख नगरेको पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । निरीक्षणका क्रममा गोदामको अवस्था अत्यन्तै दयनीय देखिएको छ । चामल भण्डारण गरिएको स्थानमा सरसफाइको अभाव हुनुका साथै मुसा र किरा नियन्त्रणको कुनै पनि प्रबन्ध नगरिएको भेटिएको छ ।

भण्डारण कक्षको तापक्रम अत्यधिक धेरै रहेको र बिक्रीका लागि राखिएका चामलमा लेबल विवरणसमेत अपूर्ण रहेको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा २५ केजी तौल भएका ३९ बोरा ‘स्टिम जीरा मसिनो’ चामल मुसाले खाएको, डल्ला परेको र अखाद्य अवस्थामा फेला परेको छ । उक्त चामलभित्र डल्ला परेको भागमा जैविक पदार्थ (चिलेसा) समेत देखिएको छ ।

टोली गोदाम पुग्दा मुसाले खाएको र बिग्रेको सोही चामललाई कामदारहरूले नयाँ बोरामा हालेर पुनः प्याकिङ गरिरहेको अवस्थामा भेटिएको थियो । १५ चैत २०८१ मा उत्पादन भएको भनिएको उक्त चामलको उपभोग्य मिति २ वर्ष रहेको भए पनि भण्डारणमा लापरबाही गर्दा उपभोग अगावै बिग्रिएको पाइएको हो ।

अनुगमन टोलीले प्रयोगशाला परीक्षणका लागि चामलको नमुना संकलन गरेको छ भने अर्काे निर्देशन नभएसम्मका लागि उक्त ३९ बोरा चामल बिक्री वितरण गर्न नपाइने गरी रोक्का राख्न निर्देशन दिएको छ । सरकारी निकायबाटै गुणस्तरहीन खाद्यपदार्थलाई लुकाएर बेच्न खोज्नुले उपभोक्ताको स्वास्थ्यप्रति गैरजिम्मेवारपन देखिएको छ ।