एमालेसँग सदन, सडक र आगामी निर्वाचनमा सहकार्य हुने : प्रचण्ड

विराटनगर १२ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सँग सदन, सडक र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताएका छन् ।

विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेसँगको सहकार्यबारे सकारात्मक वातावरण बनेको बताउनुभयो । उनले सहकार्य केवल नीति मात्र नभई पार्टीभित्रको छलफलबाट आएको निष्कर्ष भएको उल्लेख गर्नुभयो । ‘अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ ।

सडकमा पनि सहकार्य हुन्छ र आगामी निर्वाचनमा समेत सहकार्य हुनेछ’, उहाँले भन्नुभयोे । उहाँले तत्कालै पार्टी एकता हुने अवस्था भने नरहेको स्पष्ट पार्दै सहकार्यका लागि आवश्यक आधार तयार भएको बताउनुभयो ।

संयोजक दाहालले पार्टीको आगामी महाधिवेशनले नयाँ राजनीतिक क्रमको सुरुआत गर्ने दाबी गर्नुभयोे । ‘म जस्तोसुकै क्रम भङ्ग गर्न सक्छु । महाधिवेशनले नयाँ क्रम भङ्ग हुनेछ ।

प्रचण्डको यो अन्तिम क्रम भङ्ग हो, त्यसका लागि तयार रहनुस्’, उहाँले भन्नुभयोे । उनले पार्टीप्रतिको प्रतिबद्धता व्यक्त गर्दै ‘पोले पनि घामै जाती, पिटे पनि आमै जाती, आफ्नै पार्टी जाती’ भन्ने अभिव्यक्ति दिनुभयो । संयोजक दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत आलोचना गर्नुभयो ।