विराटनगर १० असोज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनु भएको छ । उहाँ आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु भएको हो । उहाँलाई स्वागत गर्न विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल पुग्नु भएको थियो ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नु भएको थियो । उहाँले ८ गते महासभालाई सम्बोधन गर्नुभयो । महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो । महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नु भएको थियो ।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको बताउनु भएको थियो । साथै, ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिएको उहाँले बताउनु भएको थियो ।
प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राख्नु भएको थियो । उहाँले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई पनि अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्व दिनुपर्ने बताउनु भएको थियो ।