पूर्वाञ्चल विश्वविद्यालयद्धारा ६ हजार ७ सय ६ जना विद्यार्थी दीक्षित

विराटनगर ८ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयको १४ औं दीक्षान्तमा ६ हजार ७ सय ६ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातक तहबाट ५ हजार २ सय ८८, स्नातकोत्तरबाट १ हजार ४ सय १३ तथा एमफिलबाट ५ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका अनुसार सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन संकायबाट २ हजार २ सय ६४ जना दिक्षित भएका छन् । त्यस्तै, इन्जिनियरिङ संकायबाट १ हजार २ सय ६२, विज्ञान तथा प्रविधि संकायबाट ७ सय ४७, कानुन संकायबाट ६ सय २२ र चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञानबाट ६ सय २४ जना विद्यार्थी दीक्षित भएका छन् । शिक्षा संकायबाट ९ सय ९८ जना तथा मानविकी संकायबाट १ सय ८४ जना विद्यार्थीले दीक्षान्त प्राप्त गरेका छन् ।

दीक्षान्त समारोहमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । समारोहमा प्रमुख अतिथि पोस्ट ग्रजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च चण्डीगढ भारतका डाइरेक्टर प्राध्यापक डा. विवेकलालले नेपाली विद्यार्थीका लागि पूर्वाञ्चल विश्वविद्यालयले सैद्धान्तिक तथा ब्यवहारिक शिक्षा प्रदान गरेर योगदान दिएको बताउनुभयो ।

विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मीत पोखरेलले सरकारले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राख्ने अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

२०५२ सालमा स्थापना भएको विश्वविद्यालयमा ३७ हजार बढी विद्यार्थी अध्यनरत छन् ।