यातायात मजदुरको क्षमता अभिवृद्धिका लागि विराटनगरमा अन्तरक्रिया

विराटनगर १४ कात्तिक । यातायात क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन चालक तथा सहचालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हाम्रो आयुष पियुष मोटर ड्राइभिङ सेन्टरले आयोजना गरेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक सञ्जयकुमार यादवले ट्राफिक नियम, सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले सवारी सञ्चालनका क्रममा चालकले ध्यान दिनुपर्ने विषय तथा ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।

मोटर ड्राइभिङ स्कुलका कोशी प्रदेश सचिव भूपेन्द्र थापाले यातायात क्षेत्रमा कार्यरत चालक तथा सहचालकले निर्वाह गर्नुपर्ने जिम्मेवारी, कामको प्रकृति र पालना गर्नुपर्ने आचारसंहिताका विषयमा सहजीकरण गर्नुभएको थियो ।

मोटर ड्राइभिङ स्कुलका कोशी प्रदेश अध्यक्ष शिव श्रेष्ठले विद्यालय तहदेखि नै ट्राफिक नियम र सडक दुर्घटनासम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । सानै उमेरदेखि ट्राफिक नियम र सडक सुरक्षाबारे जानकारी गराउन सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा हाम्रो आयुष पियुष मोटर ड्राइभिङ सेन्टरका अध्यक्ष मनिष थापाले मन्त्रालयसँगको सहकार्यमा कोशी प्रदेशका चार स्थानमा यातायात क्षेत्रका मजदुरलाई लक्षित गरी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले चालक तथा सहचालकलाई आफ्नो जिम्मेवारीप्रति थप सचेत बनाउनुका साथै व्यावसायिक दक्षता र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।