विराटनगर १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १९ गते बिहीबार सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८२ चैत १९ गते बिहीबारका दिन दिउँसो २ बजे सङ्घीय संसद् भवन सिंहदरबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको उल्लेख छ ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रीपरिषद्को सोमबार सम्पन्न बैठकले सङ्घीय संसद्को अधिवेशन चैत १९ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष पेस गर्यो । सङ्घीय संसद् सचिवालयको समन्वयमा ज्येष्ठ सदस्यको शपथग्रहण चैत ११ गते भएको भोलिपल्ट ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका बाँकी सदस्यको शपथग्रहण गराउनुभयो ।
चैत १३ गते प्रधानमन्त्रीको नियुक्ति तथा शपथग्रहण भएपछि मन्त्रीपरिषद्को दोस्रो बैठकले संसद् आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सङ्घीय संसद्को दुवै सदनको बैठक सिंहदरबारमै बस्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित नवनिर्मित संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा नै बस्ने छ । राष्ट्रिय सभाको बैठक तत्काल सङ्घीय संसद् सचिवालय परिसरमा रहेको पुरानो राष्ट्रिय सभाको भवनमा नै बस्ने छ ।”
संविधानको धारा ९५ को २ मा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।
सङ्घीय संसद् सचिवालयले पहिलो अधिवेशनको जुनसुकै बैठकमा समेत राष्ट्रपतिको सम्बोधन हुन सक्ने जनाएको छ । राष्ट्रपतिले सम्बोधन गर्ने बैठकअघि सरकारले सङ्घीय संसद् सचिवालयलाई जानकारी गराउने छ ।