बालेन ४३ औं प्रधानमन्त्री बन्दै, सपथ आज

विराटनगर १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालको ४३ औं प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई सपथ गराउने कार्यक्रम छ ।

शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ ।

त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन् ।

उनको शपथ अघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।

प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरेको थियो ।