विराटनगरमा निकालिएको रथयात्रामा २ लाख ८२ हजार भेटिसंकलन, भोटेकोशीका बाढी पीडितलाई दिईने

विराटनगर २१ भदौ । विराटनगरमा सम्पन्न ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी संकलन भएको छ । सो भेटी बाढीपीडितको राहतमा प्रयोग गरिने भएको छ ।

रथयात्राका क्रममा संकलित भेटी रकमको आइतबार बिहान गणना गरिएको हो । श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार भक्तजनबाट कुल २ लाख ८२ हजार ४१८ रुपैयाँ संकलन भएको छ ।

समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र खर्च नगरी विपद्मा परेका नागरिकको सहयोगमा उपयोग गर्ने निर्णय लिएको हो । संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने जानकारी रेग्मीले दिए ।

भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । सोही अभियानमा सहयोग पुर्याउने उद्देश्यले रथयात्रामा संकलित भेटी रकम बाढीपीडितका लागि प्रदान गर्ने निर्णय भएको रेग्मीले बताउनुभयो ।