सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

विराटनगर २६ साउन । सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका शहीद घोषणासहित अन्य महत्त्वपूर्ण निर्णयहरूबारे जानकारी दिए । मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय समेत गरेको छ ।

यस्तै पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्ति गर्ने र पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय पनि सरकारले गरेको छ ।