विराटनगर १० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई तोक्नु भएको छ । कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ नियुक्ति नभएसम्मका लागि कर्णलाई उक्त प्रदेशको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिइएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले मधेस प्रदेश प्रमुख कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिमा कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुखलाई तोकिएको उल्लेख छ । परशुराम खापुङले ५ वर्षे कार्यकाल पूरा गरी पदबाट गत २३ कात्तिकमा बिदा भएपछि कोशी प्रदेश प्रमुखको पद रिक्त थियो ।
खापुङको कार्यकाल सकिएपछि नयाँ प्रदेश प्रमुख नियुक्त नहुँदा कोशी प्रदेश २ सातादेखि प्रदेश प्रमुखविहीन रहेको थियो । प्रदेश प्रमुखको पद रिक्त हुँदा वा प्रदेश प्रमुख आफ्नो कार्यभार सम्हाल्न असमर्थ हुँदा अर्को प्रदेशका प्रदेश प्रमुखलाई कामकाज तोक्न सक्ने संवैधानिक व्यवस्था छ ।