विराटनगरमा पाँचदिने निःशुल्क बृहत् योग शिविर आयोजना हुँदै

विराटनगर ३ मंसिर । स्वस्थ जीवनशैली, शारीरिक तन्दुरुस्ती तथा मानसिक शान्ति प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा पाँचदिने निःशुल्क बृहत् योग विज्ञान शिविर आयोजना हुने भएको छ ।

पतञ्जली योग महानगर समिति विराटनगर र महिला पतञ्जली योग महानगर समिति मोरङको आयोजनामा मंसिर ४ गतेदेखि ८ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो ।

विराटनगर–११ स्थित बालकल्याण विद्या मन्दिर (बीकेभीएम) विद्यालयको प्राङ्गणमा सञ्चालन हुने शिविरमा पतञ्जली योग समितिकी नेपाल अध्यक्ष साध्वी देवदितीले योग, प्राणायाम तथा ध्यानको प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ ।

शिविर हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ । यस अवधिमा योग अभ्याससँगै रोगअनुसार योगाभ्यास, स्वास्थ्य तथा आयुर्वेदसम्बन्धी परामर्श र योग शिक्षाका कार्यक्रमसमेत सञ्चालन गरिने महानगर समिति अध्यक्ष तथा कार्यक्रम आयोजक समितिका सहसंयोजक माधव अधिकारीले बताउनुभयो ।

आयोजकका अनुसार योगलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो ।

शिविरमा उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी, महिला, युवा, ज्येष्ठ नागरिक, पत्रकारलगायत सम्पूर्ण नगरवासीलाई परिवारसहित सहभागी हुन आयोजकले आग्रह गरेको छ ।