कोशी निर्माण व्यवसायीको नेतृत्वमा बुढाथोकीको दाबेदारी

विराटनगर ३ मंसिर। नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ ।

अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकीले उम्मेदवारी दिने घोषणा गर्दै आफ्नो प्यानलसमेत तयार पारेका  छन् ।

निर्माण व्यवसायीका व्यावसायिक समस्या समाधान, सरकारी निकायसँगको समन्वय र पेसागत सुरक्षालाई मुख्य चुनावी एजेन्डा बनाएका बुढाथोकीले अनुभवी व्यवसायीहरूको टिमसहित नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका हुन् ।

निर्माण क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने, व्यवसायीको क्षमता अभिवृद्धि गर्ने तथा युवा पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने उनको योजना छ ।

प्रदेश सरकारसँग समन्वय र सहकार्य बढाएर निर्माण व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि संस्थागत पहल गर्ने र नियमित तालिम सञ्चालन गर्ने उनका प्रमुख एजेन्डा छन् ।

बुढाथोकीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश कार्की, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा र तृतीय उपाध्यक्षमा मिलन बस्नेत उम्मेदवार बन्ने भएका छन् ।

महासचिव सन्तोष बस्नेत, नीतिगत उपमहासचिवमा लीला गुरागाईं, आन्तरिक उपमहासचिवमा चन्द्र पाठक, कोषाध्यक्षमा किशोर भट्टराई र सहकोषाध्यक्षमा मनोज राईले उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्यानलका अधिकांश उम्मेदवार महासंघ कोशीको वर्तमान कार्यसमितिमा विभिन्न जिम्मेवारीमा छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार कार्की हाल महासचिव, सापकोटा तृतीय उपाध्यक्ष र सन्तोष बस्नेत कोषाध्यक्ष छन् ।

गुरागाईं, पाठक र भट्टराई कार्यसमिति सदस्य हुन् । त्यस्तै, मिलन बस्नेत निर्माण व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष र मनोज राई निर्माण व्यवसायी संघ धनकुटाका निवर्तमान महासचिव हुन् ।

२१ सदस्यीय प्रदेश कार्यसमितिमा आठ जना सदस्य निर्वाचनबाट चयन हुनेछन् भने तीन जना सदस्य मनोनीत हुने व्यवस्था छ ।

कोशी प्रदेशका १४ वटै जिल्लाका निर्माण व्यवसायी संघका अध्यक्ष पदेन सदस्य रहनेछन् ।

नेपाल निर्माण व्यवसायी महासंघको १६औँ साधारणसभा तथा नवौँ अधिवेशन मंसिर ४ र ५ गते विराटनगरमा आयोजना हुँदैछ । मंसिर ४ गते महासंघका अध्यक्ष निकोलस पाण्डेले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनपछि बन्दसत्र सञ्चालन गरी निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।

मंसिर ५ गते हुने निर्वाचनबाट आगामी कार्यकालका लागि कोशी प्रदेश महासंघको नयाँ नेतृत्व चयन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका रूपमा कार्यसमितिमा काम गरिसकेका बुढाथोकीको नेतृत्व दाबेदारीलाई यसपटकको अधिवेशनमा चासोका साथ हेरिएको छ ।