चाडपर्व सुरक्षाका लागि कोशी प्रदेशमा ८ हजार १३३ प्रहरी परिचालन

विराटनगर २३ असोज । दसैँ, तिहारलगायतका चाडपर्वको सुरक्षालाई लक्षित गर्दै कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन प्रदेश प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना, २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लामा प्रहरी परिचालन गरिएको जनाएको छ । चाडपर्वमा बजार, सार्वजनिक यातायात, राजमार्ग, धार्मिक स्थल तथा आर्थिक कारोबार हुने स्थानमा मानिसको चहलपहल बढ्ने र सुरक्षा चुनौतीसमेत थपिने भएकाले प्रहरीले नियमित सुरक्षासँगै विशेष निगरानी र आकस्मिक प्रतिकार्यलाई प्राथमिकता दिएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले बताए । उनका अनुसार चाडपर्वका बेला यात्रु ठगिने, सामान हराउने, चोरी हुने तथा यात्राका क्रममा विभिन्न समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।

बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न स्थानमा राखिएका सहायता कक्षबाट यात्रुलाई आवश्यक सहयोग, गुनासो सुनुवाइ र सुरक्षा सहजीकरण गरिने जानकारी खनालले दिए ।

यात्रुको आवागमन सहज बनाउनुका साथै लामो दूरीका यात्रामा हुन सक्ने समस्या तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सहायता कक्षको प्रभावकारिता प्रहरीको उपस्थितिमा मात्र नभई यात्रुका गुनासा कति छिटो सम्बोधन हुन्छन् भन्नेमा निर्भर रहनेछ । आकस्मिक घटनामा तत्काल परिचालन हुन ४५३ वटा ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) परिचालन गर्ने व्यवस्था मिलाइको छ ।

सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार तत्काल हस्तक्षेप गर्न १५ वटा स्ट्राइकिङ टोली परिचालन गरिनेछ । यी संयन्त्रले झैझगडा, आपराधिक गतिविधि तथा आकस्मिक घटनामा प्रहरीको प्रतिक्रिया समय घटाउने अपेक्षा गरिएको छ ।