विराट ब्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु

विराटनगर २२ असोज । विराट ब्यापार संघको आयोजनामा आजदेखि विराट ट्रेड फेयर शुरु भएको छ । विराटनगर जैन भवन परिसरमा शुरु भएको फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गर्नुभयो ।

सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभया । स्थानीय बजार बलियो बनाउन निजी क्षेत्र, व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यापारिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यको नीति थप प्रभावकारी र व्यवसायमैत्री हुनुपर्ने बताउनुभयो । सीमावर्ती क्षेत्रका व्यवसायीले भोगिरहेका समस्या समाधान नगरेसम्म स्थानीय बजारलाई प्रतिस्पर्धी बनाउन कठिन हुने उहाँले बताउनुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले खुला सीमा र नेपाल–भारतबीचको कर संरचनामा रहेको असमानताका कारण नेपाली उपभोक्ताको आकर्षण जोगबनीतर्फ बढिरहेको बताउनुभयो ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले चाडपर्वको समयमा विराटनगरको बजारमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्न सकिने आशाका साथ टे्रेड फेयर आयोजना गरिएको बताउनुभयो । उहाँले करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष कारोबार हुने अनुमान गरिएको बताउनुभयो ।

दसैंको किनमेल विराटनगरमै रोक्न सके स्थानीय बजारमा करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने आयोजक समितिका अध्यक्ष अग्रवालले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहता, प्रदेश योजना आयोगका अध्यक्ष तारानाथ निरौला, नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले बोल्नु भएको थियो । उहाँहरुले स्थानीय उत्पादनको प्रवद्र्धन, कर तथा भन्सार नीतिमा सुधार, व्यवसाय सञ्चालनको लागत घटाउने तथा उपभोक्तालाई स्वदेशमै किनमेल गर्न प्रोत्साहित गर्ने नीति आवश्यक रहेकोमा जोड दिएका दिनुभयो ।

ट्रेड फेयर असोज ३० गतेसम्म सञ्चालन हुने छ ।