विराटनगर १९ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्स र एभरेस्ट बैंक लिमिटेडबीचको सहकार्य निरन्तर हुने भएको छ । विगतदेखि नै विराटनगर किंग्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो ।
यससम्बन्धी सम्झौता विराटनगरमा आयोजित एक कार्यक्रमबीच भएको छ । नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको बैंक र विराटनगर किंग्सबीचको सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । सहकार्यलाई निरन्तरता दिएकोमा विराटनगर किंग्सले एभरेस्ट बैंकप्रति आभार व्यक्त गरेको छ ।
टोलीले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउन कर्पोरेट क्षेत्रको सहयोग महत्वपूर्ण रहेको जनाएको छ ।
विराटनगर किंग्स र एभरेस्ट बैंकबीचको निरन्तर सहकार्यले खेलकुद र निजी क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।