बेरुजु उठाउन कोशी प्रदेश खेलकुद बोर्ड सक्रिय, क्रिकेट संघले फिर्ता गर्याे ६ लाख

विराटनगर २३ भदौ । कोशी प्रादेशिक क्रिकेट संघले प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशलाई ६ लाख रुपैयाँ फिर्ता गरेको छ। संघले २०८० सालमा अन्तर–प्रदेश क्रिकेट प्रतियोगिता छनौट खेल तथा तयारीका लागि प्राप्त गरेको ६ लाख रुपैयाँ बेरुजु देखिएकोले उक्त रकम फिर्ता गरेको हो।

बोर्डबाट आर्थिक वर्ष २०८०र८१ मा प्राप्त उक्त ६ लाख रुपैयाँ बेरुजु देखिँदा संघले भदौ १७ गते सामाजिक विकास मन्त्रालयको खाताको उक्त रकम जम्मा गर्दै बेरुजु फछ्र्याैट गरिदिन बोर्डमा निवेदन समेत दर्ता गराएको छ।

बोर्डका सदस्य सचिव विप्लब घोषले बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद समिति र खेल संघमार्फत उपलब्ध गराएको रकम लामो समय देखि बेरुजु देखिन आएको रकम फछ्र्याैट गराउन सक्रिय रुपमा काम गरिरहेको बताउनु भयो। घोषले खेल क्षेत्र र खेलाडीमाथि लगानी गरिएको रकम विभिन्न कारणले बेरुजु देखिँदा त्यसले समग्र खेल क्षेत्रमाथि प्रश्न उठ्ने भन्दै बेरुजु रकम फछ्र्याैट गर्न आवश्यक पहलकदमी लिएको जानकारी दिनु भयो।

यस अघि बोर्डले यसै आर्थिक वर्षमा जिल्ला खेलकुद विकास समिति खोटाङसँग असुलउपर गर्नु पर्ने ८ लाख रुपैयाँ समेत असुल गरिसकेको छ भने जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नाममा हिनामिना भएको २५ लाख बढी रुपैयाँ असुल गर्नका लागि आवश्यक कानुनी प्रक्रिया समेत थालेको छ।