विराटनगरमा इस्कोनको श्रीकृष्ण जन्माष्टमी समारोह, १५ हजारभन्दा बढी भक्तजन सहभागी हुने

विराटनगर १५ भदौ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले आगामी भदौं १९ गते शुक्रबार विराटनगरस्थित जैन भवनमा श्रीकृष्ण जन्माष्टमी समारोह आयोजना गर्ने भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने समारोहमा १५ हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

इस्कोन विराटनगरले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रीकृष्ण जन्माष्टमी समारोहलाई भव्य रूपमा आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।

इस्कोन विराटनगरका अध्यक्ष भानुभक्त जोशीले समारोहमा सहभागी हुने सबै भक्तजनलाई प्रसाद वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । भक्तजनको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएकाले कार्यक्रमस्थलमा आवश्यक व्यवस्थापन, सुरक्षा, खानेपानी तथा प्रसाद वितरणलगायतका तयारी अघि बढाइएको उहाँले बताउनुभयो ।

समारोह आयोजना गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो। कार्यक्रमका लागि आवश्यक रकम जुटाउन उद्योगी, व्यवसायी तथा विराटनगरवासीको घर–घरमा पुगेर सहयोग रकम संकलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार श्रीकृष्ण जन्माष्टमीलाई धार्मिक आस्था र संस्कृतिसँग जोडेर मनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले समारोह आयोजना गर्न लागिएको हो। कार्यक्रममा भक्तजनको सहभागितासँगै भजन–कीर्तन, धार्मिक तथा सांस्कृतिक गतिविधि र श्रीकृष्णसँग सम्बन्धित विविध कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

इस्कोन विराटनगरले भदौं २० गते विराटनगरमा आयोजना हुने ९५औँ संस्करणको श्रीराधाकृष्ण रथयात्रामा समेत सहभागिता जनाउने भएको छ। अध्यक्ष जोशीले रथयात्रामा इस्कोन विराटनगरको सहभागिता रहने जानकारी दिनुभयो ।

विराटनगरमा प्रत्येक वर्ष धार्मिक उत्साहका साथ आयोजना हुँदै आएको श्रीराधाकृष्ण रथयात्रालाई लक्षित गर्दै इस्कोनले पनि आफ्ना भक्तजन तथा सदस्यहरूको सहभागिता गराउने तयारी गरेको जनाएको छ।

श्रीकृष्ण जन्माष्टमी तथा रथयात्राका अवसरमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह हुने आयोजकको विश्वास छ। समारोहलाई सफल बनाउन भक्तजन, उद्योगी–व्यवसायी तथा विराटनगरवासीबाट सहयोग र सहभागिताको अपेक्षा गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।