विराटनगरको एभरेष्टमा इन्ट्रा स्कुल पौडी प्रतियोगिता

विराटनगर १३ भदौ । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले राष्ट्रिय पौडी प्रतियोगिताका लागि खेलाडी तयार गर्ने उद्देश्यले इन्ट्रा स्कुल पौडी प्रतियोगिता सुरु गरेको   छ ।

शनिबारदेखि सुरु भएको दुईदिने प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । प्रतियोगितामा विद्यालयका करिब २ सय विद्यार्थीले विभिन्न उमेर समूह र दूरीका स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई आगामी राष्ट्रिय पौडी प्रतियोगिताका लागि थप प्रशिक्षण दिइनेछ ।

प्रतियोगिताको पहिलो दिन १५ मिटरदेखि १ हजार ५ सय मिटरसम्मका विभिन्न स्पर्धा सम्पन्न भएका छन् । लामो दूरीको १ हजार ५ सय मिटर खुला फ्रिस्टाइलमा कक्षा ७ का पुरव तिम्सिना पहिलो, कक्षा १० का सुज्ञान कोइराला दोस्रो र कक्षा ७ का आरध्य पाण्डे तेस्रो भए । ८ सय मिटर खुलामा कक्षा ६ का श्रीयंश थापा पहिलो, प्रनव भट्टराई दोस्रो र आरभकुमार चौधरी तेस्रो भए ।

४ सय मिटर फ्रिस्टाइल छात्रतर्फ पुरव तिम्सिना पहिलो, आरध्य पाण्डे दोस्रो र पर्णव भट्टराई तेस्रो भए । २ सय मिटर फ्रिस्टाइलमा कक्षा १० का धावा तामाङ पहिलो, कक्षा ७ का पुरव तिम्सिना दोस्रो र कक्षा १० का सुज्ञान कोइराला तेस्रो भए ।

१ सय मिटर व्यक्तिगत मिश्रित पौडीमा पुरव तिम्सिना पहिलो, सुज्ञान कोइराला दोस्रो र धावा तामाङ तेस्रो भए । १ सय मिटर फ्रिस्टाइल छात्रतर्फ कक्षा १० का हर्षित प्रताप सिंह पहिलो, कक्षा ९ का स्वयम् थापा दोस्रो र सोही कक्षाका रेहान अन्सारी तेस्रो भए ।

१ सय मिटर फ्रिस्टाइल छात्रातर्फ कक्षा ८ की आश्ना कटुवाल पहिलो, रश्मी गौतम दोस्रो र आरध्या पोखरेल तेस्रो भए । १ सय मिटर ब्रेस्टस्ट्रोक छात्रतर्फ पुरव तिम्सिना पहिलो, सुज्ञान कोइराला दोस्रो र आरध्य पाण्डे तेस्रो भए ।

५० मिटर फ्रिस्टाइल छात्रतर्फ कक्षा ४ का युभान श्रेष्ठ पहिलो, सोही कक्षाका अरिजित कर्ण दोस्रो र सन्दर्भ अर्याल तेस्रो भए । अर्काे ५० मिटर फ्रिस्टाइल स्पर्धामा कक्षा १० का धावा तामाङ पहिलो, सुज्ञान कोइराला दोस्रो र हर्षित प्रताप सिंह तेस्रो भए ।

५० मिटर बटरफ्लाइ छात्रतर्फ आरध्य पाण्डे पहिलो, हर्षित प्रताप सिंह दोस्रो र श्रीयंश थापा तेस्रो भए । ५० मिटर ब्रेस्टस्ट्रोकमा कक्षा १० का रुद्र शर्मा पहिलो, कक्षा ६ का श्रीयंश थापा दोस्रो र सोही कक्षाका प्रणव भट्टराई तेस्रो भए ।

५० मिटर फ्रिस्टाइल छात्रातर्फ आश्ना कटुवाल पहिलो, रश्मी गौतम दोस्रो र कक्षा ७ की काब्या कार्की तेस्रो भए । ५० मिटर ब्याकस्ट्रोक छात्रतर्फ कक्षा ९ का रेहान अन्सारी पहिलो, कक्षा १० का धावा तामाङ दोस्रो र रुद्र शर्मा तेस्रो भए ।

सानो उमेर समूहका विद्यार्थीको स्पर्धामा १५ मिटर फ्रिस्टाइल गल्र्सतर्फ कक्षा ३ की इबिज्ञ प्रधान पहिलो, मोक्षा पोखरेल दोस्रो र कक्षा २ की कास्भी मिश्र तेस्रो भए । १५ मिटर छात्रतर्फ कक्षा ३ का सभ्य थापा पहिलो, सोही कक्षाका मुदित सोमानी दोस्रो र कक्षा २ का आयंश शर्मा तेस्रो भए ।

२५ मिटर फ्रिस्टाइल छात्रतर्फ कक्षा ४ का अरिजित कर्ण पहिलो, कक्षा ५ का प्रियन्जन राय दोस्रो र कक्षा ४ का युभान श्रेष्ठ तेस्रो भए । १५ मिटर फ्रिस्टाइल छात्रतर्फ कक्षा ५ का दिब्यांश यादव पहिलो, अक्षत कठेत दोस्रो र निर्भिक बाबु कालिकोटे तेस्रो भए । १५ मिटर फ्रिस्टाइल छात्रातर्फ कक्षा ५ की पल्पशा साह पहिलो, कक्षा ४ की नेन्सी चौधरी दोस्रो र कक्षा ५ की अर्जिता पराजुली तेस्रो भए ।

प्रतियोगिताको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले एभरेष्ट सहितका विद्यालयको योगदानका कारण विराटनगर शैक्षिक हबका रूपमा विकास हुँदै गएको बताउनुभयो ।

उहाँले विराटनगर कोशी प्रदेशका मात्र नभई अन्य प्रदेशका विद्यार्थीको समेत शैक्षिक गन्तव्य बन्दै गएको बताउनुभयो ।

विगतमा अतिरिक्त क्रियाकलापसहितको शिक्षा लिन दार्जिलिङ र सिक्किम पुग्नुपर्ने अवस्था रहेको स्मरण गर्दै कोइरालाले अहिले विराटनगरकै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विज्ञान र प्रविधिले विश्वलाई साँघुरो बनाइरहेको अवस्थामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित रहेको बताउनुभयो । पढाइमा मात्र सीमित नभई विद्यार्थीलाई हरेक क्षेत्रमा सक्षम बनाउने उद्देश्य विद्यालयले लिएको उहाँको भनाइ छ ।

पौडीका विद्यार्थीले राष्ट्रिय प्रतियोगितामा सहभागी भएर स्वर्ण पदकसमेत जित्दै आएको उल्लेख गर्दै पुरीले खेलकुदले विद्यार्थीमा अनुशासन, सामूहिक भावना र स्वस्थ जीवनशैली विकास गर्ने बताउनुभयो ।