ब्राईट भिजन ल कलेज विराटनगरमा ‘मुटकोर्ट’ प्रतिष्पर्धा, विद्यार्थीले गरे उत्कृष्ट बहस

विराटनगर ६ भदौ । कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यले ब्राईट भिजन ल कलेज विराटनगरले ‘मुटकोर्ट’ ( नमूना अदालत) प्रतियोगिता गरेको छ ।

गत साउन ३० गतेदेखि शुरु भएको प्रतियोगिता दोश्रो संस्करण आज सम्पन्न भएको छ । फाईनल प्रतियोगितामा विद्यार्थीले संगठित अपराध सम्वन्धी काल्पनिक मुद्धामा बहस गरेका थिए । निर्णायकमा उच्च अदालत विराटनगरका न्यायाधिशहरु महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुली हुनुहुन्थ्यो । फाईनल प्रतियोगितामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री गीता तिम्सीना उच्च अदालत, जिल्ला अदालतका न्यायाधिश, सरकारी वकिलहरु, बरिष्ठ अधिवक्ताहरु लगायतको सहभागिता रहेको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीले राम्रो प्रस्तुती गरेको बताउनुभयो ।

मुटकोर्ट प्रतियोगिता हुन आवस्यक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले अदालती अभ्यास प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताउनुभयो । कानुनका विद्यार्थी हरेक क्षेत्रमा प्रतिष्पर्धी हुने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्री गीता तिम्सीनाले ब्राईट भिजन कलेजले कानुनका दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कानुनका विद्यार्थीको क्षमता विकासमा प्रदेश सरकारले सरकारी र निजी कलेजका उत्पादन भनेर विभेद नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ब्राईट भिजन कलेजका प्रमुख बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले मुटकोर्टले अदालतको अनुशासन कायम गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले विद्यार्थीमा सिर्जनात्मक सोच र विश्लेषणात्मक सोचको विकास गर्ने बताउनुभयो ।

कानुन पढ्ने विद्यार्थी ब्राइट भिजनको मात्र नभएर राज्यको जनशक्ति भएको उहाँको भनाई छ । उहाँले प्रदेश सरकारले कोशी प्रदेशका १३७ वटै स्थानीय तहहरुमा प्रदेश कानुनका बारे सञ्चार गर्न कानुनका विद्यार्थीलाई प्रयोग गर्न सुझाव दिनुभयो ।

प्रमुख आचार्यले प्रदेश मन्त्रालय, तथा निकायहरुमा इन्टर्नसीपको प्रवन्ध गर्न आग्रह गर्नुभयो । प्रतियोगिताको उपाधि बीभीएलसी ८१७ समूहले जितेको छ । सो समूहका रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम प्रथम भएका छन् । उपाधि जित्ने समूहले नगद १२ हजार सहित ट्रफी प्राप्त गरेको छ । बीभीएलसी ८०८ का उन्नती पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउतको समूह दोश्रो भएको छ । दोश्रो हुने समूहले नगद ७ हजार र ट्रफी जितेको छ । प्रतियोगितामा आमोद वस्ती, सञ्जय घिमिरे कविता पौडेल र रोजेन्स्की पोखरेलको समूह तेश्रो भएको छ ।

तेश्रो हुने समूहले नगद ४ हजार र ट्रफी जितेको छ । प्रतियोगितामा उत्कृष्ट बहसकर्ता प्रतिष्ठा पोखरेल हुनु भएको छ । उहाँलाई नगद ४ हजार र ट्रफी प्रदान गरिएको छ । दोश्रो संस्करणको मुटकोर्ट प्रतियोगितामा २५ समूहमा एक सय विद्यार्थी सहभागी भएको विद्यार्थी नारायण चौलागाइँले जानकारी दिनुभयो । कलेजले गतवर्षदेखि मुटकोर्ट प्रतियोगिता शुरु भएको गरेको हो ।

मुटकोर्टमा विद्यार्थीको आकर्षण बढेको विद्यार्थी मनिष सिग्देलले बताउनुभयो । प्रतियोगितामा वीएएलएलवीको पाँचवटै सेमेष्टरका विद्यार्थीको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा विद्यार्थीले सुनचोरी तथा पैठारी, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी काल्पनिक घटनालाई मुद्दाका रूपमा प्रस्तुत गरेका थिए ।

अदालतमा बहस गर्ने शैली, मुद्दाको तयारी, कानुनी आधार खोज्ने तथा आफ्नो पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन् । विद्यार्थी प्रतिक्षा चालिसेले व्यवसायिक कानुनका जनशक्ति उत्पादन गर्ने कलेजका रुपमा ब्राइट भिजन स्थापित रहेको बताउनुभयो ।