विराटनगर २१ असाेज । विराटनगर–२ स्थित विराट क्षितिज कलेजले बीएस्सी सीएसआईटी र बीसीएमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
शैक्षिक सत्र २०८३ मा भर्ना भएका विद्यार्थीलाई लक्षित गरी असोज १७ र १८ गते इलामको कन्यामस्थित जंगल रिसोर्टमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको कोटाअन्तर्गत कलेजमा बीएस्सी सीएसआईटीतर्फ ३६ जना र बीसीएतर्फ ३५ जना विद्यार्थी भर्ना भएका छन्। कार्यक्रममा विद्यार्थीलाई सम्बन्धित विषयको अध्ययन पद्धति, पाठ्यक्रम, प्रयोगात्मक शिक्षाको महत्त्व तथा उच्च शिक्षापछि उपलब्ध हुने शैक्षिक र व्यावसायिक अवसरबारे जानकारी दिइएको थियो।
सूचना प्रविधिको क्षेत्रमा भइरहेको तीव्र विकाससँगै दक्ष जनशक्तिको माग र सम्भावना बढ्दै गएको विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको थियो। प्रविधिको क्षेत्रमा आएका नयाँ सम्भावनासँग परिचित गराउँदै अध्ययनका क्रममा सीप विकासमा ध्यान दिन विद्यार्थीलाई प्रेरित गरिएको कलेजले जनाएको छ।
कलेजका अध्यक्ष दिनेशकुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सुदन झा प्रमुख अतिथि तथा मेची क्याम्पसका बीएस्सी सीएसआईटी कार्यक्रमका कोअर्डिनेटर सुनिल शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख खुशीराज श्रेष्ठ तथा सञ्चालकहरू आयुष लम्साल, सागर श्रेष्ठ, सुशील घिमिरे र कृष्णबहादुर भण्डारीलगायतको सहभागिता थियो।
अभिमुखीकरणका क्रममा बीएस्सी सीएसआईटी र बीसीएको अध्ययन संरचना, पाठ्यक्रम र प्रयोगात्मक सिकाइका विषयमा विद्यार्थीलाई विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रममा अघिल्ला ब्याचका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए। अभिमुखीकरणले नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली र भविष्यका अवसरबारे प्रारम्भिक जानकारी प्राप्त गर्न सहयोग पुगेको कलेजले जनाएको छ।