देउवा पक्षको रिट निवेदन सर्वाेच्चमा भएन दर्ता, थप अध्ययन गरिने

विराटनगर ५ भदौ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी असोजका लागि तय भएको १५ औं महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदनमा सर्वाेच्च अदालतले थप अध्ययन गर्ने भएको छ ।

१५औं महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ सर्वाेच्च पुगेका थिए ।

यद्यपि उक्त रिट निवेदन दर्ता नभएको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार, थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वाेच्च प्रशासनले गराएको छ । यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वाेच्चमा पुनरावेदन निवेदनसमेत दिएको थियो । सर्वाेच्चले उक्त मुद्दामा पुनः सुनुवाइको आदेश गरिसकेको छ ।

अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेस गर्न नेताहरू सर्वाेच्च गएका थिए । कांग्रेसले आगामी असोज १६–१९ गते १५औं महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।