कोशी प्रदेशमा एमाले र नेकपावीच मन्त्रालय भागबन्डामा सहमति

विराटनगर २९ साउन । नयाँ सत्तासमीकरणको सहमतिपछि कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रालय भागबन्डामा सहमति गरेका छन् ।

केन्द्रीय नेतृत्वको हस्तक्षेपछि ९ वटा मन्त्रालय रहेको कोशीमा ५–४ को सहमति गरेका हुन् । कोशी प्रदेशमा नेकपाले ४ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीमा दाबी गरेको थियो । तर, नेकपा एमाले भने ३ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीको जिम्मेवारी दिन तयार थियो । प्रदेश तहमा नेताहरूबीच छलफल हुँदा सहमति नभएपछि केन्द्रीय तहबाटै सहमति भएको हो ।

नेकपा एमाले स्रोतका अनुसार, कोशीमा मन्त्रालय भागबन्डा मिलाउन नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई फोन गरेका थिए । मन्त्रालयको संख्या टुङ्गो लागेपनि कुनकुन मन्त्रालय लिने भन्ने टुङगिन बाँकी छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि सबै विषय टुङ्गो लाग्ने बताउनुभयो ।

नेकपाले नेपाली कांग्रेस सरकारबाट बाहिरिँदा छाडेको मन्त्रालय बाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय माग गरिरहेको छ । कांग्रेसले भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय पाएको थियो ।

नेकपाले आर्थिक मामिलासहित चार वटा मन्त्रालय खोजिरहेको हो । आइतबारसम्म भागवण्डा टुङ्गो लगाएर सोमबार नयाँ मन्त्रीको शपथ गराउने तयारी दुई दलको छ ।