विराटनगर १८ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंको खुलामञ्चमा दिउँसोबाट शुरु भएको महाधिवेशनमा राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले संसद् खुला नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएसम्म संसद् खुला नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयोे, ‘कांग्रेसको महाधिवेशनको स्थल खुलामञ्च बनाएर कांग्रेसले दिन खोजेको सन्देश र गर्न खोजेको सङ्कल्प नेपालमा यस्ता खुलामञ्चहरू धेरै ठाउँमा चाहिएको छ । पहिलो खुलामञ्च कहाँ चाहिएको छ ? पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ ।
संसद् खुला छैन, संसद् बन्द छ । जुन संसद्ले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको सम्मानपूर्वक उपस्थिति रहँदैन, त्यो दिनसम्म संसद् खुला भएको हुँदैन । संसदभित्र खुलामञ्च चाहिएको छ ।’
नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताउनु भयो । उहाँले गगन थापा आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्री भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयोे, ‘मैले त्यतिबेलै भन्थे तपाईँले यो देशको नेतृत्व गर्ने बेला आउनसक्छ । आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ ।’ उहाँले बाँकी रहेका सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए ।
नयाँ भन्नेहरूले बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै गगनलाई त्यस्तो व्यवहार नदेखाउन आग्रह गर्नुभयोे । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रायः एक्लो हुने बानी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु । सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष । प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ लामिछानेले भन्नुभयो । कांग्रेसले नेपालको लोकतन्त्रमा पुर्याएको योगदानको आफूले सधैं सम्मान गर्ने सभापति लामिछानेको भनाइ थियो ।
एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताउनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा प्राकृतिक विपत्तिको जोखिम बढिरहेको भन्दै विपत्तिको सामना गर्न राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले जलवायु न्यायको प्रश्न नेपालको साझा प्रश्न भएको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताउनुभयो । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उहाँले बताउनुभयो । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उहाँको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन् ।
कांग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले शुभकामना दिएका छन् । त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिएका छन् । एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट पनि कांग्रेसलाई शुभकामना प्राप्त भएको छ।
इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप) स्ट्यान्डिङ कमिटी, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । महाधिवेशनमा करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी छन् ।