विराटनगर १८ असाेज । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ को सहकार्यमा नेपाल बाँतर सरदार समाज कल्याणकारी खनार सुनसरीले विभिन्न कार्यक्रम गरी ९ औं जितिया महोत्सव मनाएको छ ।
इटहरी–१३ खनाहारमा नेपाल बाँतर सरदार समाज कल्याणकारी खनाहार सुनसरीले विभिन्न कार्यक्रम गरी आईतवार ९ औं जितिया महोत्सव मनाएको हो ।
महोत्सवलाई उद्घाटन गर्नुहुँदै इटहरी नगरपालिकाकी उपमेयर संगिता चौधरीले धर्म, संस्कार र संस्कृतिलाई अंगाल्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउनुभयो । उहाँले जितिया पर्व केवल एउटा धार्मिक तथा सांस्कृतिक महोत्सव मात्र नभई यससँग आमाको भावना र सन्तानप्रतिको निःस्वार्थ प्रेमसमेत जोडिएको बताउनुभयो ।
बाँतर समुदायमा विशेष महत्व राख्ने जितिया पर्वमा आमाहरूले आफ्ना सन्तानको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै कठोर व्रत बस्ने परम्परा रहेको उहाँले चर्चा गर्नुभयो ।
जितिया पर्व तीन दिनसम्म मनाउने गरिन्छ ।
पहिलो दिन ‘नहाय–खाय’ गर्ने, दोस्रो दिन निर्जल व्रत बस्ने र तेस्रो दिन पारण गरी व्रत समापन गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको उहाँले उल्लेख गर्नुभयो ।
जितिया पर्वमा प्रकृतिको समेत पूजा गर्ने चलन रहेको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिका–१३ का वडा अध्यक्ष चन्द्रेश्वर सरदारले भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
जितिया मोहत्सवका अध्यक्ष भदु सरदारले महिलाको विकास, सशक्तीकरण र उत्थानका लागि खनाहारका बाँतर समाज निरन्तर विभिन्न काम गर्दै आईरहेको बताउनुभयो ।
महोत्सवमा इटहरी उपमहानगरपालिका–१३ का वडा अध्यक्ष एवं नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय वरिष्ठउपाध्यक्ष चन्द्रेश्वर सरदारलाई कदर–पत्रले आयोजक समिति खनाहारले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय सहअध्यक्ष सुभाष कुमार सरदार, महासचिव पदमकुमार सरदार, सचिव सोनेलाल सरदार, मोरङ जिल्ला सभपाति अनिल सरदार, मोरङ जिल्लाका युवा सभापति विनोद सरदार, सुनसरीका युवा सभाति राजु सरदार, सुनसरी जिल्लाका सचिव भुपेन सरदारलगायत स्थानीय बर्तालु महिला तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
महोत्सवमा स्थानीय कलाकारहरुले विभिन्न गीत संगीतमा नृत्य प्रस्तुत गरेका थिए ।