विराटनगर १८ साउन । नेपालका कारागार, प्रहरी हिरासत र बाल सुधारगृहहरूको संरचना सुधार माग गर्दै सर्वाेच्चमा रिट दायर भएको छ । अधिवक्ता कुमारप्रसाद थपलियाले सोमबार सर्वाेच्च अदालतमा उक्त रिट दायर गरेका हुन् ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयसहित कारागार व्यवस्थापन विभाग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।
रिटमा हिरासत र सुधार गृहमा रहेकाहरूको विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराउन, मानसिक स्वास्थ्यका लागि ‘सुसाइड प्रिभेन्सन प्रोटोकल’ लागू गर्न र बालबालिकाहरूमाथि बल प्रयोग नगर्न तत्काल अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । आजै सर्वाेच्च अदालतले अर्काे एक मुद्दामा देशभरका बालसुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्न पनि भनेको छ ।
विगतमा अदालतवाट भएको आदेश पालना नभएको भन्दै सर्वाेच्चले दोस्रो पटक यस्तो आदेश गरेको हो । पुष्प दंगालले दायर गरेको रिटमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको इजलासले बालसुधार गृह सानोथिमि भक्तपुरको मात्र प्रतिवेदन प्राप्त भएकोले अन्यमा पनि गराउन आदेश गरेको हो ।