विराटनगर १६ साउन । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र कानुनी शासन सुदृढ बनाउन कानुन अध्ययन गर्ने विद्यार्थीहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनु भएकाे छ ।
शनिबार विराटनगरस्थित डिग्री क्याम्पसमा आयोजित एलएलबी अध्ययन कार्यक्रमको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले संविधान र कानुनको प्रभावकारी कार्यान्वयनका लागि सक्षम, जिम्मेवार र नैतिक कानुनी जनशक्ति उत्पादन आजको आवश्यकता भएको बताउनुभयाे ।
उहाँले नेपाल भौगोलिक रूपमा सानो भए पनि गौरवपूर्ण इतिहास बोकेको स्वतन्त्र राष्ट्र भएको उल्लेख गर्दै वीर पुर्खाहरूको त्याग र बलिदानका कारण राष्ट्रियता तथा सार्वभौमसत्ता जोगिएको बताउनुभयाे।
अहिले पनि मुलुकले सामना गरिरहेका चुनौतीहरूलाई नेपाली समाजले एकता र सहकार्यका माध्यमबाट पार गर्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
मन्त्री पराजुलीले पछिल्ला दिनमा विभिन्न स्थानमा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि देखिन थालेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिप्रति सबै नागरिक सचेत हुनुपर्ने बताउनुभयाे। उहाँले समाजमा आपसी विश्वास, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम राख्नु अहिलेको प्रमुख दायित्व भएको धारणा राख्नुभयाे ।
उहाँले नेपालको संविधानलाई नागरिक स्वतन्त्रता, मानव अधिकार र मौलिक हक सुनिश्चित गर्ने प्रगतिशील दस्तावेजको संज्ञा दिँदै संविधान जारी भएको एक दशकभन्दा बढी अवधिमा यसको कार्यान्वयन क्रमशः संस्थागत बन्दै गएको बताउनुभयाे ।
संघीय शासन व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र कानुन निर्माण गरिरहेको उल्लेख गर्दै उहाँले ती कानुनको प्रभावकारी कार्यान्वयनबाट सुशासन र समृद्धिको आधार बलियो हुने बताउनुभयाे ।
कानुनको अध्ययन केवल पेशा प्राप्त गर्ने माध्यम नभई समाजमा न्याय, उत्तरदायित्व र विधिको शासन स्थापित गर्ने अभियान भएको उल्लेख गर्दै मन्त्री पराजुलीले कानुन अध्ययनरत विद्यार्थीहरू भविष्यका न्याय सम्पादन, कानुनी परामर्श र सार्वजनिक जीवनका जिम्मेवार पात्र भएको बताउनुभयाे।
अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रमुख ढकबहादुर मगर, सहायक क्याम्पस प्रमुख मिलन खरेल, प्राडा शिवकुमार राई, एलएलवी कार्यक्रम संयाेजक शान्तिराम भण्डारी , प्राध्यापक संघ सभापति राम पाेखरेल, स्ववियु सभापति प्रितम साह, विद्यार्थी जसवन्त पाैडेल लगायतले बाेल्नु भएकाे थियाे ।
डिग्री क्याम्पसमा यश बर्षदेखि शुरू भएकाे एलएलवी कार्यक्रममा काेटा बराबर ३ सय विद्यार्थी भर्ना भएकाे क्याम्पस प्रमुख मगरले जानकारी दिनभयाे । एलएलवीकाे पठन पाठन साउन २५ देखि रात्रिकालिन सत्रमा सञ्चालन हुने उहाँले बताउनुभयाे ।
अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रशासन, प्राध्यापक, कानुन संकायका शिक्षक तथा नवप्रवेशी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

