विराटनगर ४ साउन । भारतको कोलकाताबाट विराटनगर कार्गाे रेल मार्फत ढुवानी गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको रेल आज एकीकृत जाँच चौकी विराटनगरमा आइपुगेको छ ।
सो कार्गाे रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी,उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका छन् । नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर–१८ वुधनगर भेडियारी स्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।
स्वास्तिक आयलले खानेतेल उपत्पादनका लागि मगाएका औद्योगिक कच्चा पदार्थ यहि साउन १ गते कोलकाता बन्दरगाहदेखि विराटनगरका हिडेको कार्गाे रेल आज विराटनगर आइपुगेको हो । कार्गाे रेलमा ४० कन्टेनर खानेतेल उत्पादन गर्ने दाना रहेको विराटनगर भन्सार कार्यालय का प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड अधिकारीहरूले संयुक्त रूपमा उक्त कार्गाे रेलको विदाइ गर्नु भएको थियो ।
विराटनगर आइपुगेको यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आउँदा एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गाे कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर पठाउन सकिने छ नेपाली वाणिज्य दुतावास कलकत्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सडक मार्गको तुलनामा रेल कार्गाे सुरक्षित, भरपर्दाे र न्यून लागत हुनुका साथै करिब २४ घण्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले यसबाट आयात सहज हुनेछ व्यावारीहरुको बताउनुभएको छ ।
विगतमा वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गाे सुविधा अब विराटनगरमा समेत सञ्चालन कन्टेनर र बल्क कार्गाे नियमित रूपमा व्यावसायिक ढुवानी गर्ने बाटो खुलेको छ । यस व्यवस्थाबाट बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने विलम्ब शुल्क ,कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम भई पारवहन लागतमा उल्लेखनीय न्यूनीकरण हुने विश्वास लिइएको छ ।
यसले व्यापार सहजीकरणमा मद्दत पुग्नुका साथै नेपाली उद्योगहरूको प्रतिस्पर्धी क्षमता बलियो बनाउने महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।